Kathmandu Press

इपिसेन्टर बनेको पर्सामा कोरोना नियन्त्रण उन्मुख, हिजो संक्रमितको संख्या शून्य

साउन पहिलो सातापछि हरेक दिन सयदेखि दुई सय जना कोरोना संक्रमित भेटिएको पर्सामा विगत एक साता यता संक्रमितको संख्या २० भन्दा तल झरेको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार सोमबार पर्सामा नयाँ संक्रमितको संख्या शून्य छ।
इपिसेन्टर बनेको पर्सामा कोरोना नियन्त्रण उन्मुख, हिजो संक्रमितको संख्या शून्य

काठमाडौं,  भदौ ३० :  सरकारले देशव्यापी गरेको लकडाउन खोल्ने निर्णय गरे लगत्तै कोरोनाको इपिसन्टर बनेको पर्सामा कोरोना संक्रमण ह्वात्तै घटेको छ।

साउन पहिलो सातापछि हरेक दिन सयदेखि दुई सय जना कोरोना संक्रमित भेटिएको पर्सामा विगत एक साता यता संक्रमितको संख्या २० भन्दा तल झरेको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार सोमबार पर्सामा नयाँ संक्रमितको संख्या शून्य छ।

‘हिजो (सोमबार) राति आएको रिपोर्टमा पर्सामा नयाँ संक्रमित थपिएनन्,’ डा. सिंहले काठमाडौं प्रेससँग भने, ‘साउन पहिलो सातापछि दैनिक सयभन्दा माथि संक्रमित थपिन्थे। इपिसेन्टर बनेको पर्सामा संक्रमण नियन्त्रण उन्मुख छ। एक साता यता नयाँ संक्रमितको संख्या २० भन्दा तल छ।’

पर्सामा हालसम्म १ हजार ९ सय ७७ जना पुरुष र ५ सय ६७ जना महिला गरी २ हजार ५ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। नारायणी अस्पतालका अनुसार हालसम्म कोरोनाबाट पर्सामा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पर्सामा भदौ २३ यता नयाँ संक्रमितको संख्या १५ भन्दा कम छ। नारायणी अस्पतालको प्रयोगशालामा भदौ २८ गते गरिएको परीक्षण अनुसार मन्त्रालयले २९ गते सार्वजनिक गरेको रिपोर्ट अनुसार पर्सामा ९ जना संक्रमित भेटिएका थिए।

भदौ २८ गते ४, भदौ २७ गते १०, भदौ २६ गते तीन जना नयाँ संक्रमित थपिएका छन्। यस्तै, पर्सामा भदौ २५ गते ११, भदौ २४ गते ६ र भदौ २३ गते १४ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकहरुले पर्सामा कोरोना नियन्त्रणतर्फ अघि बढेको बुझिन्छ।

नयाँ संक्रमितको संख्या कम भएपनि अहिले पर्सामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको डा. सिंह बताउँछन्। जसमध्ये ४३ जना अस्पतालमा उपचाररत छन् भने बाँकी संस्थागत र होम आइसोलेसनमा छन्। अस्पतालमा उपचाररतमध्ये सात जनाको आईसीयूमा उपचार भइरहेको छ।

कसरी भयो संक्रमणको चेन ब्रेक?

समुदायस्तरमा संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले वीरगञ्जमा साउन १० गतेदेखि निषेधाज्ञा लगाएको थियो। पर्सा जिल्लाभर साउन २९ देखि निषेधाज्ञा लगाइयो। कडा निषेधाज्ञाले संक्रमणको चेन ब्रेक गरेको डा. सिंह बताउँछन्।

‘संक्रमणको चेन ब्रेक गर्न कडा रुपमा गरिएको निषेधाज्ञा सफल सावित भयो। अहिले चेन ब्रेक भइसकेको हाम्रो निष्कर्ष छ’, सिंहले भने, ‘दैनिक डेढ सयभन्दा बढी संक्रमित भेटिने ठाउँमा १५ जना भन्दा कम संक्रमित भेटिनुले चेन ब्रेक भएको पुष्टि गर्छ।’

समुदायस्तरमा संक्रमण फैलिएको निष्कर्षपछि त्यतिबेला दैनिक सात सय जनासम्मको परीक्षण गरिएको थियो। यस्तै, संक्रमितलाई राख्न विद्यालय, धर्मशाला लगायतमा स्थानमा पर्याप्त आइसोलेसन बेड बनाइएको थियो। लक्षणसहितका बिरामीको उपचारका लागि गण्डक अस्थायी कोभिड अस्पताल र वीरगञ्ज हेल्थ केयरमा १ सय ७० बेडको व्यवस्था गरिएको थियो।

‘निषेधाज्ञा, परीक्षणको दायरामा वृद्धि, आइसोलेसन केन्द्र र अस्पतालमा बेड संख्या लगायतको व्यवस्थापन समयमै भयो। यसले चेन ब्रेकसँगै संक्रमितको व्यवस्थापन र उपचार गर्न सहज भयो,’ सिंहले भने, ‘यद्यपी अहिले कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा घटेको छ। अहिले दैनिक तीनदेखि चार सयको परीक्षण भइरहेको छ। क्लोज कन्ट्याकमा आएकाहरुको मात्रै ट्रेसिङ भइरहेको छ।’

नयाँ संक्रमितको संख्यामा कमी आएसँगै सिरियस केसमा समेत कमी आएको डा. सिंहले बताए।

अवस्था सुधारोन्मुख छ, तर खतरामुक्त छैन

पर्सामा नयाँ संक्रमितको संख्या कम हुँदै गएपनि खतरा भने टरिनसकेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको भनाइ छ। उनले संक्रमण ओरालो लागे पनि परीक्षणको दायरा खुम्चिएको प्रति असन्तुष्टि जनाए।

‘हामी सुधारोन्मुख अवस्थामा छौँ। तर, खतरा टरेको छैन।  परीक्षणको दायरा कम भएको छ। स्वाब संकलन कम भइरहेको छ,’ मेयर सरावगीले भने, ‘संक्रमितको संख्या घट्दैमा खतरामुक्त छौँ भनेर हौसिहाल्ने अवस्था छैन।’

राज्य एक्लैले संक्रमण नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ। उनले अझै पनि दुईथरि मानिसबाट पर्सामा थ्रेट कायमै रहेको बताए।

‘दुईथरि मानिसबाट हामीले सधैँ थ्रेट महसुस गरिरहनु परेको छ,’ उनले भने, ‘एउटा  खुला सीमाना र माक्स लगाएर नहिड्नेहरु।’

उनका अनुसार भारतसँग खुला सीमाना भएका कारण मानिसहरु अवैधानिक रुपमा आवतजावत गर्दा जतिबेला पनि जोखिम हुन सक्छ। ‘खुला सीमानामा आवतजावत गर्नेका कारण सधैँ थ्रेट महसुस हुन्छ,’ उनले भने, ‘मास्क लगाउन नमान्ने, सामाजिक दूरी कायम नगर्ने र हात नधुनेहरुबाट पनि जोखिम छ। भलै पछिल्लो समय मास्क लाउनेको संख्या बढेको छ। तर, उनीहरुले सामाजिक दूरी पटक्कै कायम गरेका छैनन्।’

सार्वजनिक स्थलमा चार जना भन्दा बढी भेला हुन नदिने नीति अघि सार्नु पर्ने मेयर सरावगीको भनाइ छ। ‘चार जनाभन्दा बढीको जमघट हुन नदिने र सार्वजनिक छुट्टीका दिन निषेधाज्ञा लगाउने नीति अघि सार्दा संक्रमण फैलिन पाउँदैन। यतातर्फ सोच्नु पर्ने अवस्था देखिएको छ,’ उनले भने।

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्