Kathmandu Press

मानिसको खान्कीमा चिनियाँ सरकारको निगरानी, खाना खेर फाले कारबाही हुने

बेइजिङमा खानाको फोहोर बढ्न थालेपछि खाना धेरै मगाएर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले जनताको खानामाथि निगरानी सुरु गरेको छ।
मानिसको खान्कीमा चिनियाँ सरकारको निगरानी, खाना खेर फाले कारबाही हुने
Hardik ivfHardik ivf

हङकङ : बेइजिङमा खानाको फोहोर बढ्न थालेपछि खाना धेरै मगाएर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले जनताको खानामाथि निगरानी सुरु गरेको छ।

सांघाईका सुरक्षा अधिकारीहरुले त्यहाँका बासिन्दालाई खाना खेर फाल्नेविरुद्ध उजुरी दिन उर्दी जारी गरिसकेको छ। सुरक्षाकर्मीको उजुरीको उर्दीसँगै रेष्टुरेन्ट तथा खाना बेच्ने होटलहरुले कम संख्यामा खाना मगाउन ग्राहकहरुलाई फकाइरहेका छन्। सांघाईको एक रेष्टुरेन्टले ग्राहकको वजन नापेर मात्रै उपयुक्त मात्रामा खाना सिफारिस गर्न थालेको छ।

विश्वका विभिन्न देशमाझैँ चीनमा पनि खेर गएको खानालाई व्यवस्थापन गर्न चुनौती छ। सन् २०१५ मा  मात्रै करिब ५० करोड मानिसलाई एक वर्षसम्म पुग्ने खाना बेइजिङमा खेर गएको तथ्य चिनियाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए।
 
कोरोना महामारीका कारण विश्वव्यापी खाद्य आपूर्ती चेनमा असर परेपछि चीनले खाना खेर फाल्नेलाई निरुत्साहित गर्न लागेको हो। चिनियाँ राष्ट्रपति सी जिनफिङले खाना खेर जानु निकै स्तब्धपूर्ण र दिक्दार लाग्दो भएकाले यसलाई रोक्नका लागि अभियाननै सञ्चालन गर्नुपरेको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपतिको यो भनाईलाई आदेशका रुपमा लिँदै चीनको संसदले खाना खेर फाल्नेलाई कारबाही गर्न र यो काम निरुत्साहित गर्न कानुन निर्माणको तयारीसमेत थालेको छ। सन् १९५० देखि ६० को दशकमा चीनमा भोकमरीका कारण ४ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए। त्यसैले चीनमा खानालाई निकै संवेदनशीलरुपमा लिने गरिएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा सामूहिक भोजन निकै प्रचलित छ। अहिले चीनमा जे चाह्यो त्यही खान सकिन्छ।

खाना धेरै खेर जान थालेपछि सरकारले नागरिकको खानामा गर्न थालेको निगरानीले मानिसहरुमा नैराश्यता बढ्ने विज्ञहरु बताउँछन्। ‘सामान्यतया दिनमा तीनपटक मानिसले खाना खाने गर्दछ। यसमा पनि निगरानी बढेपछि मानिसहरुले राज्यबाट थप त्रसित हुनेछन्। चिनियाँ शासन प्रणालीप्रति निकै वितृष्णा उत्पन्न हुनेछ’, चिनियाँ राजनीतिक जानकार तथा सिंघवा विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गराउने प्राध्यापक वु वाङ बताउँछन्।

सन् १९९३ मा चीनमा सरकारले खानाको लागि भौचर दिने प्रचलनको अन्त्य गरेको थियो। यो प्रचलनको अन्त्य हुनुको संकेत थियो, चीनमा खानेकुरा अभाव अब समाप्त भइसक्यो। मानिसहरुले आफ्नो रोजाइको खान्की खान सक्नेछन्।

चिनियाँ समृद्धिको छनक डाइनिङ टेबलमासमेत देख्न सकिन्थ्यो। ‘डानिङ टेबलमा मानिसका रोजाइको खान्की उपलब्ध हुनुले चिनियाँ नागरिकको समृद्ध र सुखी जीवनशैलीको झलक दिन्थ्यो,’ प्राध्यापाक वाङ भन्छन्।

बहुपरिकारका भोजनसहित मानिसहरुले जन्मदिन, विवाह, नयाँ वर्ष मनाउँदै जान थाले। उत्सवमा परीकारको विविधता र त्यसमा प्रयोग गरिने मर मसलाले मानिसको औकात मापन हुन थाल्यो। त्यसपछि चीनमा आवश्यकता बढी मात्रामा खाना बनाउने प्रचलन सुरु भएको सिंगापुरको नेशनल युनिभर्सिटीमा सार्वजनिक प्रशासन पढाइरहेका  अल्फ्रेड म्युलन भन्छन्। ‘खानाको अभाव झेलेका चिनीयाँले परिकारको विविधता र त्यसको मात्रालाई व्यक्तिको सम्पन्नताको सूचक बनाउन थाले। उत्सवमा जसले धेरै खाना मगायो उ नै समृद्ध मानिन थाल्यो,’ उनले भने।

यो संस्कृतिसँगै चीनमा खाना धेरै खेर जान थाल्यो। चीनमा सन् २०१३ देखि २०१५ मा हरेक वर्ष १८ करोड टन खाना खेर गएको तथ्याङ्क सार्वजनिक भएको थियो। १ अर्ब ४० करोड  जनसंख्या रहेको चीनमा प्रति व्यक्तिले वर्षमा ३२ केजी खाना खेर फाल्ने गरेको तथ्याङक छ। चीनमा सबैभन्दा बढी खाना क्याटरिङ कम्पनीले खेर फाल्छन्। ‘खाना फाल्ने अपराधमा सबैभन्दा अग्रणीमा क्याटरिङ पर्छन् चिनीयाँ सहरमा अब यो व्यापारलाई निरुत्साहित गर्नुपर्ने अवस्था आइसक्यो,’ राष्ट्रपति सी चिनफिङले भनेका छन्।

बेइजिङले मात्रै दैनिक १८ हजार टन फोहोर उत्पादन गर्छ। त्यसको ठूलो हिस्सा खेर गएका पाउरोटी, माछा, मासु, चामलले ओगट्छन्। कोरोना महामारीका कारण ६ महिनासम्म बन्द भएका रेष्टुरेन्ट तथा  क्याटरिङलाई खेर नजाने गरी खाना बेच्न जारी गरिएको आदेश निकै विवादास्पद पनि बनेको छ। ‘आफ्ना ग्राहकलाई खाना मगाउन कसरी अंकुश लगाउन सक्छौँ र हामी त राम्रो व्यापार गर्नेतर्फ केन्द्रित हुन्छौँ,’ रेष्टुरेन्ट व्यापारी वाङ वान भन्छन्।

बढ्दो निगरानी

विभिन्न सिमितताकाबीच जीवनयापन गरिरहेका चिनीयाँ नागरिक खानामा समेत निगरानीले निकै दिक्दार बनेका छन्। आफ्ना जनताका गतिविधिलाई कडा नियन्त्रण गरिरहेको चिनीयाँ सरकारले इन्टरनेटमा नियन्त्रण गरेको छ। राजनीतिक विषयमा इन्टरनेटमार्फत हुने टीकाटिप्पणीलाई सेन्सर गर्ने गरेको छ। चीनले आफ्ना नागरिकका गतिविधि नियाल्नका लागि मात्रै २० करोड भन्दा बढी सीसीटिभी राखेको चिनीयाँ सञ्चारमाध्यमहरुको भनाई छ। अझै पनि केही सहरमा प्रजननमा नियन्त्रण छ। बढो नियन्त्रित जीवन बिताइरहेका चिनीयाँ नागरिकले खाना मात्रै स्वतन्त्ररुपमा खान पाउँथे अब त्यसमा समेत नियन्त्रण सुरु भएको छ। ‘चिनीयाँ जनताले खानामात्रै स्वतन्त्र रुपमा खान पाएका थिए अब त्यसमा समेत नियन्त्रण सुरु भएको छ। अधिनायकवादी चीनमा आधारभूत स्वतन्त्रता समेत खोसियो,’ राजनीतिक विश्लेषक वाङ भन्छन्।

गत महिना मात्रै हेलोङझ्याङ प्रान्तको हार्विन सहरमा खानेकुरा खेर फाल्नेलाई सार्वजनिक गर्ने अभियान सुरु भयो। सरकारी क्यान्टिनको डष्टविन नजिकै सीसीटीभी राखिएको छ। ताकी खाना खेर फाल्नेको पहिचान गर्न सकियोस्। तीनपटक खाना खेर फालेको देखिएमा ती व्यक्तिको फूटेज टेलिभिजनमा प्रसारण गर्दै  सार्वजनिक वेइजती गरिएको छ। सांघाइ सहरका स्थानीय सरकारले निगरानी बढाएका छन्। कोही कसैले खाना खेर फालेको देखेमा उजुरी गर्नसमेत स्थानीय सरकारको उर्दी छ। यसको विरोध गर्दै सामाजिक सञ्जालमा एक जनाले लेखेका छन्  (मेरै पैसाले किनेको कुरा मैले फाल्दा सरकारको टाउको दुखाई किन?)

चीनको लावनिङ प्रान्तमा नयाँ नियम सुरु भइसकेको छ। मानिसहरुको संख्याका आधारमा कम्तिमा दुईवटा परिकार कम गर्ने प्रचलन सुरु भएको हो।

कृषीमा संकटपछि खानामा निगरानी गर्न सुरु भएको हो। यो वर्ष  प्राकृतिक प्रकोपका कारण कृषीमा असर परेपछि राष्ट्रपतिले खाना खेर फाल्नेविरुद्ध कारबाहीसहित नागरिकको खानपानामा निगरानी गर्ने निष्कर्षमा पुगेका हुन्। कोरोनाभन्दा अघि चीनमा स्वाइन फिभर देखिएको थियो। यसले सुँगुर पालनमा असर गर्यो। चीनमा खपत हुने मासुमध्ये सुँगुरको हिस्सा ७० प्रतिशत रहेको छ। एक वर्षमा एक चिनीयाँ नागरिकले २० केजी सुँगुरको मासु सेवन गर्ने तथ्याङक छ। स्वाइन फिभरका कारण सुँगुरको उत्पादन ४० प्रतिशतले घट्ने आंकलन गरिएको छ। यस्तै अमेरिका र चीनबीच चलिरहेको व्यापारको शीत युद्धका कारण खाद्यानसमेत आयात भएको छैन। याङ्जी नदीको बाढीका कारण धान र मकै उत्पादनमा समेत गिरावट आउने देखिएको छ।

खानामा नियन्त्रण गर्ने राष्ट्रपतिको नीति निकै असान्दर्भिक रहेको कतिपयको प्रतिक्रिया छ। कोरोना महामारीका कारण घरमा थुनिका नागरिक रेष्टुरेन्ट जाने प्रतीक्षामा छन्। यस्तोबेलामा नियन्त्रित रुपमा खाना मगाउनुपर्ने नीति सही नभएको चाइनिज युनभर्सिटीमा अध्यननरत वील्ली एम बताउँछन्। ‘नागरिकहरु रेष्टुरेन्टमा खानका लागि निकै समयदेखि प्रतिक्षारत छन्। उनीहरुले नियन्त्रित भएर खान मगाउँछन भन्ने कुरा निश्चित छैन,वील्लीले भने।

सन् २०१३ मा ल्याइएको यही किसिमको नीति पनि चीनमा सफल भएको थिएन। त्यतिबेला पनि बेइजिङमा खाना खेर फाल्ने रेष्टुरेन्ट तथा क्याटरिङलाई जरिवाना तिराइएको थियो। ‘बिना कुनै मार्गनिर्दशनका साथ ल्याइएको नीति सफल हुँदैन सत्यता के हो भने यसको पालना निकै कठीन छ,’ नेशनल युनभर्सिटी अफ सिंगापुरका प्राध्यापक वाङ भन्छन्।

१ अर्ब ४० करोड जनसंख्यामा नियन्त्रित खान्कीको बानी बसाल्न चीनलाई निकै कठिन छ। तर कठिन भन्दा कठिन कार्यलाई सम्भव तुल्याएको चीनले यो नीतिको पालना कसरी सफल तुल्याउँछ प्रतीक्षाकै विषय छ।

(सीएनएनबाट अनुवाद)

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, भदौ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्