मंगलबार, मंसिर १६, २०७७

से-फोक्सुन्डोले लगाएको त्यो मोहनी  

अघिल्लो वर्षको असारको महिना थियो। रिमझिम रिमझिम पानी परिरहेको थियो।

एकाबिहानै नारायणप्रसाद अधिकारीको फोनको घण्टी बज्यो। ‘एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम छ, तपाईं डोल्पा आइदिनु पर्‍यो’, फोनमा सन्चो बिसन्चो सोध्न नपाउँदै उनले भने। डोल्पा भन्ने बित्तिकै मेरो मानसपटलमा त्यो सुन्दर से–फोक्सुन्डो तालको तस्वीर नाच्यो। दायाँबायाँ सोच्दै नसोची हुन्छ भने।
 
मेरा मित्र नारायण थिए, से–फोक्सुन्डो गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत। जुलाई २५ गते शनिबारको दिन थियो। बिहानै डोल्पाको यात्राका लागि पोखराबाट निस्किए। पोखरावाट नेपालगञ्जसम्म बसमा जानुपर्ने थियो। पोखराबाट नेपालगञ्ज सिधा हवाई सेवा छैन। एक्लै जानुपर्ने भए त गर्मीको समय बस यात्रा निकै सकसपूर्ण नै हुन्थ्यो। पोखराबाट मसँग मादी गाउँपालिकाका गोविन्द खनाल पनि थिए।

रात्रीबस चढेर हामीहरु नेपालगञ्जतर्फ हुइँकियौं। आइतबार बिहानै नेपालगञ्ज पुगियो। त्यो दिन त्यही मेरो ठूलो मामा कृष्णप्रसाद अधिकारीको घरमा आराम गरियो। मालपोतका हाकिमबाट सेवा निवृत्त मामा ठूलै जमिनदार हुनुहुन्छ, त्यसैले उहाँको रमाइला गफमा दिन बित्यो।

सोमबार बिहानै साढे ८ बजे नेपालगञ्जवाट डोल्पाको जुफाल (२१५० मि.) उडान थियो।  विमानस्थलबाट बिहानै साढे ६ बजे आज छिट्टै मौसम खुलेको छ, छिट्टै उडान हुन्छ, ७ बजे नै आइपुग्नु भन्ने फोन आयो। अक्सर मनसुनको समय नेपालको हिमाली जिल्लामा हवाई सेवा नियमित चल्दैन। त्यहाँ पनि तीन दिनदेखि अवरुद्ध थियो। चिया पनि राम्रोसँग नपिउँदै विमानस्थल हानियौं।

करिब ४५ मिनेटको पखाइपछि नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जबाट हामीलाई लिएर डोल्पाको जुफालका लागि उड्यो। नेपालको पहाडी भेगमा मनसुनी समयमा जहाज उडाउनु जोखिमपूर्ण नै छ। चाहे त्यो सोलु होस् चाहे त्यो मुस्ताङ यात्रा उच्च जोखिम नै छ। पोखरावाट मुस्ताङ कयौं पटक उत्रेको हुनाले यहाँ खासै डर चाहिँ लागेको थिएन। विमानस्थलको रनवे छोटो र उच्च पहाडमा भएकाले जोखिम चाहिँ लाग्यो। तर, यो भन्दा बढी जोखिम सोलु विमानस्थल नै छ।

विमानस्थलमा झर्ने बित्तिकै स्थानीय शिक्षक पत्रकार साथी बालकृष्ण डाँगी हामीलाई स्वागत गर्न आइपुगे। उनैको घरमा कालो चिया पिएर, जिपमा जुफालबाट डोल्पाको सदरमुकाम दुनै बजार गयौं। जुफालबाट तल ठूली भेरी नदीको किनार हुँदै मकै र सिमीले भरिएको कालागौँडा गाउँ दायाँ पार्दै रुप घर कटेर ४५ मिनेटमा दुनै पुगियो।
 
ठूली भेरी नदीको किनारमा बसेको दुनै बजार २०५७ सालमा माओवादी सशस्त्र विद्रोहमा ध्वस्त भएको थियो। कयौं नेपाली नागरिकले ज्यान गुमाएको त्रासदीवाट फिरेको दुनै अहिले भने शान्त छ। सोमबार राति हामी त्यही दुनै बजार बस्यौं।  

साँझ प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरुसँग भेट भयो। उनीहरुसँग जिल्लाको सुशासन र प्रशासनिक गतिशिलताका विषयमा जानकारी लियौं। भोलिपल्ट मंगलबार बिहानै प्रमुख जिल्ला अधिकारी, सशस्त्रका डिएसपी, स्वास्थ्यकर्मीको टोलीसहित से–फोक्सुन्डो जाने कार्यक्रम तय भयो।

अचानक गृह मन्त्रालयले सदरमुकाम नछाड्न राति सर्कुलर आएपछि सिडियो र डिएसपी नजाने भए। स्वास्थ्यकर्मीसहित ७ जनाको हाम्रो टोली बिहानै ६ बजे दुनैबाट से–फोक्सुन्डोतिर लम्कियो।  
 
अहिलेसम्म त हिँड्नु परेको थिएन, अब भने पुरै हिँड्नुपर्ने थियो। डोल्पाका कुनै पनि सरकारी कार्यालयमा सवारी साधन छैनन्। सदरमुकामबाट जहाँ गए पनि हिँड्नै पर्ने कारण सरकारी साधन नभएको हो। दुनैसम्म जान जुफाल विमानस्थल र सुर्खेतबाट जाजरकोट हुँदै खुलेको कच्ची मोटरबाटो भने छ।

ठूली भेरी नदी र सुलीगाड नदीको दोभानमा रहेको पुल तरेर सुलीघाटबाट सेनाको व्यारेक देव्रे पार्दै उत्तर से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको चेकपोष्ट पुग्यौं। त्यहाँ नाम लेखाएर, कडा चट्टानले बनेको ठूला पहाडको खोचमा बगेको सुलिगाड नदीको किनारै किनार हाम्रो यात्रा उकालो लाग्यो।
 
पहाडको माथिबाट कुन बेला ढुंगा खस्छ, पत्तो नै हुँदैन। बाटोमा चिप्लिए सिधैँ सुलीगाड नदीमा परिन्छ कि भन्ने डर त्यत्तिकै थियो। फँलाट, ओखर, देवदारका साना झाडीबाहेक अरु रुख, विरुवा छैनन्। कहालीलाग्दो मात्रै छैन्, त्यो बाटो उराठलाग्दो पनि छ।
 
करिब दुई घण्टाको कठिन यात्रापछि कागेनी गाउँ पुगियो। यहाँ तिव्वती धर्मका झण्डाहरु फराएको, अलिअलि हरिया ठूला रुख छन्। हामी ३ बजे सागंटामा पुगेर चाउचाउ र अण्डा पकाएर खाजा खाएर एकछिन आराम गयौं। करिब ५ बजे हामी छेप्का (२६७० मि.) गाउँमा पुग्यौं, त्यो रात त्यही बास बसियो।

अग्लो खोचको फेदीमा रहेको यो गाउँमा कुनै पनि फोनको नेटवर्क लाग्दैन। तिव्वतीयन मुलका मानिसहरु बस्ने यो गाँउमा ५-७ वटा मात्रै घर थिए। हामी बसेको होटल याक एण्ड यतीका मालिक दम्पति पोखराको हेम्जा गुम्वामा २० वर्ष बसेका रहेछन्। बसाइँ पनि रमाइलो भयो। 


 
तेस्रो दिन बिहानै ६ बजे नै छेप्कावाट फेरि उकालो यात्रा सुरु भयो। बिहान ८ बजे सुलीगाँड खोलाको किनार पाल भन्ने ठाउँमा चिया पिउन बसियो। जंगलको बीचमा एउटा त्रिपालमुनि दुई जना तन्नेरीले चिया पसल चलाएका रहेछन्। यो यात्रामा रमाइलो त के भने लौरी चाहिँ चाहिने रहेछ, मैले छेप्कामा राति बसेको होटलबाट बुढी आम्मैसँग मागेर ट्रेकिङ लौरी लिएको थिए।

सागंटाभन्दा तल कागनीमाथिको एउटा गाउँमा ज्वरोको औषधिसँग लौरी साटेका थियौं। उनका स्वामी बेस्सरी बिरामी रहेछन्। ज्वरो आएको तर उनीहरुसँग ओखती थिएन। हामीसँग भएको औषधि उनलाई दिएपछि मात्रै हामीलाई लौरी दिएकी थिइन्।

हामीले लौरी नदिएपनि औषधि भने दिने नै थियाैं, त्यति मानवीयता हामीसँग थियो। त्यो विकट गाउँका नागरिकले सहज स्वास्थ्य सेवा कहिले पाउने खोई? मन खिन्न भयो।देशका ठूला शहरमा त स्वास्थ्य सेवा अझै राम्रो छैन। कहिले पाउने त्यो विकट गाउँका नागरिकले सामान्य ओखतीमुलो। हामी जन्मेका गाउँ त स्वर्ग नै भने हुन्छ।

पालबाट एक तमासको असजिलो ४ घण्टाको उकालो पार गरेर र्‍याँची पुगियो। करिब साढे १ बजे भोकले जे भेट्यो त्यही खाउँ भइसकेको थियो। अब त केही नखाएर खुट्टा उचालिन्छ जस्तै लागेन। त्यसैले उवाको झोलसँग चाउचाउ उमालेर खाएर बल्ल उकालो चढियो।


 
करिब दुई घण्टामा भात खान पाउने ठाउँ पोलाम (२९०० मिटर) अर्थात झरना होटल पुगियो। बाटोमा हामीले तातो पानीमा मिसाएको अर्गानिक मह, काजु, बदाम तथा चकलेट खाएका थियौं। घरिघरी यस्तो लाग्थ्यो कि यो दुःख गरेर किन यहाँ आएको होला।
 
करिब २२ घण्टामा बल्ल घरपरिवारसँग सम्पर्क भयो। वास्तवमै भन्ने हो भने मेरो हिँड्ने बानी टुटेको रहेछ। यति लामो हिँडेको त थिए, तर अलि रुखो हिँडियो तीन दिनको यात्रा दुई दिनमै भयो। त्यसैले पनि थकान बढी नै भएको हुनुपर्छ। त्यो रात पनि स्थानीय साग र लोकल कुखुराको झोलसँग भात खाइयो।
 
पोलामबाट ताल जाने बाटो ठाडै उकालो, शीरको टोपी नै खस्ने खालको थियो। यो बाटोमा घोडा चाहिँ कमैले चढ्छन्। घोडाको खुट्टा चिप्लियो भने सिधैँ से–फोक्सुन्डोबाट आएको खोलामा पुग्ने हो। त्यहाँ पुग्दा हाडखोर पनि बाँकी रहँदैन। अरु मेरो साथीहरु हिँडेरै जाने तयारीमा लागे, म चाहिँ घोडामा उक्लिने विचार गरी घोडा चढेँ। यस्तो अप्ठेरो होला भन्ने भएको भए सायद मैले घोडा चड्दैन्थें।
 
त्यही उकालोमा से–फोक्सुन्डो तालबाट निकास भएर आएको खोलाबाट ठूलो झरना बनेको थियो, त्यो अत्यन्तै सुन्दर थियो, जुन १६७० मिटर तल हिमनदीले बगाएर ल्याएको अवशेषको अग्लो डाँडामुनि पछारिन पुगेको थियो।
 
अब हामी उकालो चढेर एउटा सुन्दर उपत्यकामा पुग्यौं।  जहाँ बहुरंगी भव्य दृश्य देख्यौं। हिमनदीले छोडेको शान्त श्रृङ्खलामा हरियो सल्लाघारी र रिङ्गमो गाउँ (३६२७ मि.) को खैरो जमिनले निलो ताललाई घेरेको थियो। ताललाई वरिपरि घेरेर सुरक्षा प्रदान गर्ने चट्टानका टुप्पाहरु हिउँले ढाकिएका थिए। जुन दृश्य मैले धेरै लामो समयसम्म एक तामसले हेरिरहे। यो लुकेको उपत्यकामा पहिला आउने आगन्तुकबारे एकछिन गम्न थाले।


 
सन् १९५६ मा यहाँ आएर डोल्पोमा प्रचलित बोन–पो  धर्मको जीवन्त भावनालाई संसारका सामू राखिदिने डेभिड स्नेल्ग्रोभले बुद्धको स्वर्गमा आइपुगे भन्दै यसरी बयान गरेका थिए, “पानीको किनारा चाँदी जस्तो टल्कने भोजपत्रले बनेको छ, पानीको अलौकिक निलो रंगको पृष्ठभूमिमा हाँगामा चमचम गर्दै चम्किने सेतोपना मैले जानेमध्ये सबैभन्दा स्वर्गीय आनन्द दिने बस्तु हो।”

गोसेझिन स्कारले सन् १९६२ मा यहाँ आएका बेला यसरी उद्गार व्यक्त गरेकी छन्, “यस तालको पानी इटालीका पर्वतीय तालमा झै विश्वासै गर्न नसकिने गरी नीलमणिको जस्तो गाढा निलो रगंको छ, शान्ति र सुन्दरताको चरमविन्दु, ताल यति शान्ति र सुख दिने दृश्यले भरपुर छ कि यस्तो सुखको मुहानबाट आफूुखुसी कहिल्यै पनि जान सक्दिनँ।”

भूगोलविद् हर्क गुरुङ्ग सन् १९७७ मे महिनामा यहाँ पुगेका रहेछन्। उनले भनेका थिए, “फोक्सुण्डोे तालको मनमोहक वातावरणको रस लिँदै म दावाको परिवारसँग पुरै तीन दिनसम्म बसें, हिउँ पर्‍यो, यस्तो अचम्मको स्वर्गमा सबैैलाई पुग्न भाग्य खुल्दैन। जो पुग्छ त्यो ठूलो भाग्यमानी हो।”
 
रिङ्गमो गाउँमा जम्मा २० घर थिए। कुल जनसंख्या १०० जना जति छ। सबै  मानिसको पहिलो नाम तिव्वती थियो। तर कसैकसैले रोका, बुढाथोकी जस्तो क्षेत्री जातीय नाम अपनाएका रहेछन्। यहाँका छोर्तेन र गुम्बाले उनीहरुको तिव्वती उत्पत्तिबारे औंल्याइरहेको थियो। कतिपय भोटियाहरुले मतवाली क्षेत्रीको पद ल्याएका रहेछन्।

धेरे जसोको विवाह सम्बन्ध गाउँभित्रै सीमित थियो। कसै कसैले छिमेकी गाउँ पुङ्गमोमा वैवाहिक सम्बन्ध जोडेका रहेछन्। ताल किनारमा रहेको मुख्य गाउँको यो सानो समुदायले गाउँको गुम्बाबाहेक दुई शाखा वस्तीको पनि हेरचाह गरेको अनुभूति भयो।

वसन्त ऋतुमा गहुँ छर्न उनीहरु रिङ्गमोमा बस्छन् भने ग्रीष्ममा फापर छर्न मडुवा (३३०० मिटर) मा सर्छन्। गहुँ र आलु थन्याउन फेरि रिङ्गमो फर्कन्छन्। जाडोमा पशु चराउन पोलाममा झर्छन्। मानिस तथा ठाउँलाई बुझाउन उनीहरुको आफ्नै शब्द पनि रहेछन्।

तिव्वती शरणार्थीलाई उनीहरु डोक्पो, खम्बा र पोसा भन्दा रहेछन् भने करनका मानिसलाई कर्मा र मुगाललाई मुगुमा भन्छन्।

दक्षिणतिरका मानिस गोर्खालीलाई पोन्बो, जुम्लीलाई जुपलाग खर्सा, बाहुनलाई टान्थे र क्षेत्रीलाई खस्य भन्ने गर्छन्। उनीहरु वर्षेनी आउने काठमाडौंका विभिन्न स्थानको पनि आफ्नै शब्दमा नाम राखेका रहेछन्। काठमाडौं शहरलाई सागर–क्यार्सा, पाटनलाई हेराङ–क्यार्सा, भादगाउँलाई खोकुम–क्यार्सा र मन्दिरहरुमध्ये स्वयम्भूलाई फोकपा–सिंगुन, पशुपतिलाई कुल्राड–आन्जो भन्ने गर्दा रहेछन्।


 
गाउँ नजिकै लेकाली फूलका पोथ्राहरु उम्रेका थिए। उत्तरमा रहेको ताल लोभलाग्दो थियो। जैविक पदार्थविनाको त्यो तालको पानीको रंग नीलमणिको जस्तो छ। तालको पूर्व लाखाङ्ग गुम्बा छ। ताल अभूतपूर्व स्वर्ग हो, यहाँ आउने जो कोही पग्लीहाल्छ। वडाध्यक्ष मिग्मा टासिङ गुरुङको घरमा च्याङ्ग्राको मासु, त्यसैको तातो सुप खाँदै रमाइलो गरी रात बित्यो।
 
चौथो दिन मेरो कार्यक्रम थियो। बिहानैदेखि कार्यक्रमको रुपरेखा तयार पार्न लागे। मध्यान्ह १२ बजे भने पनि १ बजे मात्रै मानिस भेला भए। नेपालकै इतिहासमा ३७०० मिटरको उचाइमा तालको किनारमा सार्वजनिक सुनुवाइ यो नै पहिलो थियो। विकट गाउँमा सुशासन के रहेछ भन्ने तथ्य गजब गरी बुझ्ने मौका मिल्यो। नेपालको धेरै कमिसन र भ्रष्टाचार तराई र हिमाली भेगमा छ भन्ने बुझ्न अब मलाई गाह्रो भएन।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव हरिनारायण बेल्वासेसहितको टोली भोलिपल्ट मात्रै आइपुग्यो, उनीहरु एक दिन ढिला आएकाले मैले थप दुई दिन त्यही बिताउनु पर्ने निश्चित भयो। त्यसैले दुई दिन त्यही तालको मनोरम दृश्यमा रमाएर अगष्ट २ तारिखका दिन ११ जनाको जम्बो टोली दुनै झर्न हिँड्यो। त्यो पहिलो रात र्‍याँइचेमा बास बसेका थियौं।

अर्को दिन बिहानै ५ बजे हिँडेको टोली राति ७ बजे दुनै आइपुगेको थियो। त्यो ओरालोमा कसरी दौडियो, कुनै भ्यउ भएन। अगष्ट ४ तारिखको दिन डोल्पाको जुफालबाट बिहान साढे ६ बजेको पहिलो फ्लाइटमा नेपालगञ्ज ओर्लिए, ११ बजेको फ्लाइटमा नेपालगञ्जबाट काठमाडौं हुँदै दिउँसो ३ बजेको फ्लाइटमा काठमाडौंबाट पोखरा ओर्लेसँगै यो ९ दिनको जोखिमपूर्ण र अविष्मरणीय यात्रा टुंगियो।

अहिले पनि एक पटक फेरि त्यो स्वर्गमा पुग्न मन लाग्छ, कसैलाई पनि एकै पटकमा से–फोक्सुन्डोको तिर्खा मेटिँदैन।
 

 Published Date: Saturday, 29th August 2020 10:17:00 am