Kathmandu Press

हुँदै नभएको विषय जब ‘समाचार’ बन्छ

अहिले हामी यस्तो युगमा छौँ, जहाँ झुटलाई सजिलै सत्यको रुप दिन सकिन्छ। भदौ ९ गते मंगलबार साँझ केही अनलाइन मिडिया र सोसल मिडियामा जे...
हुँदै नभएको विषय जब ‘समाचार’ बन्छ

अहिले हामी यस्तो युगमा छौँ, जहाँ झुटलाई सजिलै सत्यको रुप दिन सकिन्छ। 

भदौ ९ गते मंगलबार साँझ केही अनलाइन मिडिया र सोसल मिडियामा जे देखियो, त्यसले यो भनाइलाई पुष्टि गर्‍यो। सरकारले कूलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको खबर एकाएक भाइरल भयो। 

इन्फ्लुएन्सर भनिने सोसल मिडियामा धेरै फलोअर भएका व्यक्ति, कलाकार, पत्रकारदेखि सांसदसम्मले यो विषयमा लेखे। त्यति मात्र होइन, केही नाम चलेकै अनलाइन मिडियाहरुले पनि यसबारे समाचार राखे। अनलाइन मिडियाका समाचार र सोसल मिडियाको खबर- दुवै माध्यमले यसलाई फैलाए। 

तर, यो झुटको 'एकल राज' धेरै समयसम्म टिकेन। रात पर्दानपर्दै मन्त्रिपरिषद्को बैठकमा ऊर्जा मन्त्रालयले घिसिङलाई नियुक्त गर्ने प्रस्ताव नै नलगेको र बैठकले त्यस्तो निर्णय नै नगरेको समाचार आइसकेको थियो।

तर 'झुट' यति धेरै फैलिसकेको थियो कि त्यसले 'सत्य'लाई छायाँमा पारिदियो। फलस्वरुप, मिडियाका समाचारमा खासै चासो नराख्ने एउटा वर्ग बुधबार बिहानसम्म पनि कुलमान चार वर्षका लागि पुनः प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएको भ्रममै रमाइरह्यो। 

कसरी फैलियो मिथ्या समाचार?

यो मिथ्या समाचार सबैभन्दा पहिला कलाकार दीपकराज गिरीको फेसबुकबाट फैलिएको देखिएको छ।

वास्तवमा गिरीले व्यङ्ग्यात्मक रुपमा फेसबुकमा स्ट्याटस लेखेका थिए। उनले मंगलबार साँझ ५ बजेर ४३ मिनेटमा लेखेका थिए, "आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!! सरकारले यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन..."

उनको यही स्ट्याटसपछि नै कुलमान नियुक्त भएको अरु धेरै स्ट्याटसहरु आएका देखिन्छन्। यसो हुनुको पनि एउटा कारण के पनि रहेछ भने दीपकको फेसबुकको स्ट्याटस धेरै मोबाइलहरुमा आधा मात्रै देखिएको थियो।

अर्थात् "आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!!" देखिएपछि त्यसको मुनि 'सी मोर' थियो। त्यसमा क्लिक गरेपछि मात्रै "सरकारले यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन " लेखेको देखिन्थ्यो। 

फेसबुकमा ३ लाख ८१ हजारभन्दा बढी फलोअर भएका दीपकले लेखेको स्ट्याटस पूरा नपढिकनै 'निरन्तरता दिने निर्णय गरेको छ' मात्रै पढी धेरैले मन्त्रिपरिषद्को बैठकले निर्णय नै गरिसकेको ठाने। त्यही आधारमा मिडियाले समेत समाचार बनाए। 

बुटवलको सामुदायिक बुद्ध टेलिभिजनले त सोसल मिडियामै आफूहरुले दीपकराज गिरीको फेसबुक स्ट्याटसबाट समाचार साभार गर्दा गल्ती भएको भन्दै क्षमा माग्यो। टेलिभिजनका पत्रकारले के बुझेनन् भने मन्त्रिपरिषद्को निर्णयको आधिकारिक खबर कुनै कलाकारको फेसबुक पेजमा आउने होइन। कलाकारले सही कुरा लेखेकै भए पनि त्यसको पुष्टि गर्न जरुरी हुन्छ। यसमा पुष्टिको त कुरै छाडिदिउँ, स्ट्याटस पूरा समेत नहेरेको पाइयो। 

बुद्ध टेलिभिजन मात्रै होइन, पत्रकारहरु पनि झुक्किए। प्रतिष्ठित मिडियामा कार्यरत पत्रकारहरु समेत झुक्किए। स्रोतसम्म नपुगिकनै सोसल मिडियामा आएको जानकारीलाई सही भन्ठानेर आफूले पनि लेखे। पत्रकारहरुले आफ्नो सोसल मिडियामा मात्र त्यसलाई सीमित राखेनन्, आफू कार्यरत अनलाइन मिडियामा समेत यसबारे समाचार बनाए।

माउन्टेन टेलिभिजन, शिलापत्र, न्यूज कारोबार, साँघु, न्यूजअफनेपाल आदि केही उदाहरणमात्रै हुन्। कपिपेस्टवाला अनलाइनहरुको त गणनै भएन। केहीले सुटुक्क समाचार सच्याए, केहीले माफी मागे, केहीले यत्तिकै राखे।

नहतारिनुस्, सोच्नुस्

संयुक्त राष्ट्र संघले भेरिफाइड नामको एउटा अभियान चलाएको छ। यो विशेषतः कोभिड-१९ को महामारीमा फैलिएका मिथ्या सूचनाहरुप्रति लक्षित हो।

विश्व स्वास्थ्य संगठनले त यसलाई इन्फोडेमिक अर्थात् सूचना महामारीकै संज्ञा दिएको छ। जसरी कोभिड-१९ को महामारी फैलिरहेको छ, त्यसैगरी मिथ्या सूचनाको महामारी पनि फैलिँदैछ। भेरिफाइडले सोसल मिडियामा कुनै पनि जानकारी सेयर गर्नुअघि केही समय रोकिन आग्रह गर्दै जनचासोका भिडियोहरु बनाएको छ। 

कुलमानको विषयमा आएका समाचारहरुलाई पनि हतारिएर सेयर गर्नुअघि एकछिन रोकिएर सही कुरा के होला भन्ने बुझ्ने कोशिश गरेको भए यस्तो गल्ती हुने थिएन। मिडियामा आएका कुनै पनि समाचारको विश्वासिलोको त कुरै छाडिदिउँ, सामान्य स्रोतसमेत थिएन।

सोसल मिडियामा आउँदैमा सबै कुरा सही हुँदैनन् भन्ने ज्ञान कम्तिमा पत्रकारहरुलाई हुनुपर्ने हो। किनभने पत्रकारहरुमाथि समाजले 'विश्वास' गरेको हुन्छ। मिथ्या सूचना फैलाउँदा त्यो विश्वासमाथि घात हुन जान्छ। 

मिडिया साक्षरताको अभाव भएको हाम्रो जस्तो देशमा फेसबुकमा वा युट्युबमा आएका विषयलाई नै समाचार ठान्ने ठूलो संख्या छ। डाक्टर, इन्जिनियर, शिक्षक, वकिल जस्ता प्रतिष्ठित पेशामा रहेका व्यक्तिहरुले पनि फेसबुकमा आएका जानकारीलाई अन्धाधुन्ध सेयर गर्ने गरेको तपाईँ हामी सबैले देखेकै छौँ। 

जसरी सडकमा गाडीहरुको भिड हुँदा ट्राफिक बत्तीले हरियो संकेत नगरेसम्म रोकिनुपर्छ, सोसल मिडियामा हुत्तिएका सयौँ जानकारीहरुको भिडलाई पनि हाम्रो ब्रह्मले हरियो संकेत नगरेसम्म सेयर गर्नबाट रोक्न सक्नुपर्छ। सेयर बटन थिच्नु वा कसैले सेयर गरेको विषयमा आफ्नो धारणा राखी सोसल मिडियामा राख्न हतार नगरी केही समय रोकिनु नै यो महामारी रोक्ने एउटा पहिलो कदम हो। 

नहतारिएर ब्रेक लगाएपछि अब अर्को कदम सुरु हुन्छ। अब तपाईँ हेर्न थाल्नुस्-

•    कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस्।

•    समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस्। समाचारमा स्रोत उल्लेख गरिएको छ कि छैन ध्यान दिनुस्। जस्तै कुलमानको नियुक्तिको समाचारमा मन्त्रिपरिषद् बैठकको खबर कि प्रवक्ताले भनेको हुनुपर्थ्यो कि बैठकमा सहभागी कुनै मन्त्रीले। यी स्रोतको अभावमा समाचार माथि शंका गर्ने प्रशस्त ठाउँ थिए। 

•    सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।

•    मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस्। लिङ्क राख्दा झन् त्यो समाचार फैलन सहयोग गर्छ। 

•    कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस्।

•    कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए उसलाई व्यक्तिगत रुपमा त्यसबारे जानकारी गराउनुहोस् ।

•    फ्याक्टचेक वेबसाइटहरु हेर्ने बानी बसाल्नुस्। अक्सर विदेशमा भाइरल भएका विषयहरु नै नेपालमा पनि रिसाइकल भएर आउँछन्। कतिपय विषयहरु विदेशकै फ्याक्टचेकिङ वेबसाइटहरुले तथ्य जाँच गरिसकेका हुनसक्छन्। नेपालमा पनि दुई वटा फ्याक्टचेक गर्ने वेबसाइट छन्- साउथएसिया चेक र नेपालफ्याक्टचेक डट ओआरजी। 

(लेखक सन् २००५ देखि सञ्चालनमा रहेको ब्लग माइसंसार डट कमका संस्थापक तथा सोसल मिडियामा भाइरल भएका जानकारी र मिडियामा आएका समाचारको तथ्यजाँच गर्ने नेपाल फ्याक्ट चेक डट ओआरजीका सम्पादक हुन्) 
 

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, भदौ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्