Kathmandu Press

सुरक्षित हुनुपर्ने अस्पतालमै कोरोना संक्रमणको उच्च जोखिम

सुरक्षित हुनुपर्ने अस्पतालमै कोरोना संक्रमणको उच्च जोखिम

काठमाडौं, भदौ १० : उपत्यका लगायत मुलुकभरका सरकारी र निजी अस्पतालले कोरोना रोकथामका लागि आवश्यक तयारी नगर्दा अस्पतालमा परीक्षण गर्न जाने, बिरामी कुरुवा र अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेको छ।

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे सरकारले कोभिड र ननकोभिडको उपचार एकै अस्पतालमा गर्ने नीति लिँदा अस्पतालबाट संक्रमणको जोखिम बढी हुन थालेको बताउँछन्। 

‘अस्पतालमा जोखिम छ। सोही कारण अहिले हरेक अस्पताल सुनसान छन्। बरु मानिसले मेडिकलबाट औषधि किनेर खाइरहेका छन्। तर, अस्पताल गए कोरोना संक्रमण हुन्छ कि भनेर डराएका छन्,’ डा. पाण्डेले भने, ‘कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने अस्पताल छुट्टा–छुट्टै बनाएको भए यो समस्या आउँदैन थियो। अब कोरोना फ्रि अस्पताल भनेर विश्वास दिलाउन सक्नुपर्छ।’

मुलुककै ठूलो त्रिवि शिक्षण अस्पतालले कोभिड र ननकोभिड बिरामीलाई फरक–फरक भवनमा उपचार गरिरहेको छ।

‘कोभिडका बिरामीका लागि छुट्टै भवनको व्यवस्था गरेका छौँ। कोरोना संक्रमितको उपचारका लागि उनीहरुलाई गणेशमान सिंह भवनमा राख्ने गरेका छौँ। अन्य रोगका बिरामीका लागि पहिला जस्तै विभिन्न भवनमा उपचार भइरहेको छ,’ शिक्षण अस्पतालका कोभिड संयोजन समितिका संयोजक डा. सन्तकुमार दासले काठमाडौं प्रेससँग भने, ‘अहिले कोरोनाको जोखिम बढेको हुँदा सावधानीका लागि प्रत्येक २÷३ घण्टामा सबै वार्डहरुलाई क्लोरिन झोलले सफा गर्ने गरेका छौँ।’

कोभिडका बिरामी पनि उपचार गर्ने अस्पतालले विश्व स्वास्थ्य संगठनले तयार गरेको कोरोना रोकथाम तथा नियन्त्रणको प्रोटोकल फलो गर्नुपर्ने हुन्छ। तर, अधिकांशले त्यो प्रोटोकल पूर्ण रुपमा पालना गरेको देखिँदैन। केही ठूला अस्पतालले स्वास्थ्य संगठनले तयार गरेको स्वास्थ्यकर्मीलाई अनिवार्य पिपिई, निश्चित समयमा पुरै अस्पताल डिस्इन्फेक्सन गर्ने,  टेस्टिङ गाइडलाइन, उपचार गाइडलाइन लगायत पालना गरे पनि सबैले स्रोतसाधनको अभावमा पालना नगरेको बताउँछन्।

शिक्षण अस्पतालले भने स्वास्थ्य मन्त्रालयको भन्दा भिन्न गाइडलाइन तयार गरेको दाबी गरेको छ। ‘मन्त्रालयले देशभरका लागि उपयुक्त हुने गरी गाइडलाइन तयार पार्छ भने हामीले अस्पतालको आवश्यकता अनुरुप गाइडलाइन तयार पारेका छौं,’ डा. दासले भने।

स्वास्थ्य मन्त्रालयले हालै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउनु पर्ने निर्णय गरेको छ। तर, यसले कोरोना संक्रमणको जोखिम झन बढ्ने डा. पाण्डे बताउँछन्।

‘लाइबेरियामा इबोला संक्रमण हुँदा इबोलाका र अन्य बिरामीको उपचार एकै ठाउँमा गरियो। जसका कारण क्रस इन्फेक्सन हुँदा धेरै स्वास्थ्यकर्मी र अन्य रोगीको मृत्यु भयो’, डा. पाण्डेले भने, ‘इटालीमा पनि कोभिड र ननकोभिड बिरामीको उपचार एकै ठाउँमा गर्दा त्यही अवस्था देखियो। उनीहरुले गल्ती सच्चाए। तर, हामी त्यही गलत बाटोतर्फ हिँडेका छौँ।’

अस्पतालले यथेष्ट सचेतना नअपनाएका कारण बिरामी अस्पताल जानै छाडेका छन्।

‘दीर्घरोगीले नियमित चेकअप गर्न छोडेका छन्।  मिर्गौलाको डायलासिस गर्नुपर्ने बिरामी समेत अस्पताल जान कोरोना सर्छ कि भनेर डराएका छन्,’ डा. पाण्डेले भने, ‘योसँगै खोप लगाउनुपर्ने बालबालिका, अप्रेशन गर्नुपर्ने बिरामी, डेलिभरी गर्नु पर्ने गर्भवतीहरु कहाँ जाने? यो अविश्वास अस्पतालको लापरवाहीले भएको हो।’

वरिष्ठ सरुवा रोग विषेशज्ञ डा. ल्हामो याङ्चेन शेर्पा अस्पतालमा जोखिम बढ्नुको कारण ‘एयर फ्लो’ लगायतका मापदण्डमा ध्यान नदिई बनाइएका संरचना भएको बताउँछिन्।

‘पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्धता, त्यसको प्रयोगको कुरा त छँदैछ। सँगै एयर फ्लो लगायतका मापदण्ड पूरा नभएका संरचनामा हाम्रा अस्पताल छन्। जसका कारण कोरोना सर्ने जोखिम बढ्न पुगेको छ,’ डा. शेर्पाले भनिन्, ‘विदेशमा कोभिड र ननकोभिड बिरामीको छुट्टा–छुट्टै अस्पताल र फरक–फरक स्वास्थ्यकर्मीले उपचार गर्छन्। हाम्रोमा दुवै खालका बिरामी एउटै अस्पतालमा राख्दा जोखिम बढाउन सक्छ।’

अस्पतालका ‘वेटिङ एरिया’ले समेत जोखिम थप बढाएका छन्। ‘वेटिङ एरिया’मा दूरी कायम लगायतका मापदण्ड लागू नभएको शेर्पाको भनाइ छ। 

‘अस्पतालमा कसरी डिसइन्फेक्ट गरिन्छ? स्वास्थ्यकर्मी कति सचेत भएर काम गरिरहेका छन्? वेटिङ एरियामा दूरी कायम लगायतका मापदण्ड पूरा भएको छ की छैन हेर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले वेटिङ एरियामा एक सिट छोडेर बस्नु भनेको छ। तर, यहाँ मानिसहरु टाँसिएर बसेका छन्।’
 
डा. पाण्डेका अनुसार अहिलेकै समस्या निरन्तर रहने हो भने भोलिका दिनमा कोभिडका कारणले भन्दा अन्य रोगका कारणले धेरै मानिसको ज्यान जाने खतरा छ। 

‘अहिले कोभिडको त्रास फैलिएको छ। कोभिडबाट नेपालमा ०.५ प्रतिशत मृत्युदर छ। नेपालमा अज्ञात रोगबाटै हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ,’ उनी भन्छन्, ‘अहिले उपचार नपाउँदा भोलि कोभिडले भन्दा अन्य रोगले धेरै मानिस मर्ने सम्भावना धैरै छ।’
 

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, भदौ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्