Kathmandu Press

‘दोस्रो पुस्ताका नेतालाई पनि कार्यकर्ताले रूचाएका छैनन्’

नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक एवं केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे पार्टीको १४ औं महाधिवेशन समयमै हुने दाबी गर्छन्। उनी सभापति शेरबहाद....

‘दोस्रो पुस्ताका नेतालाई पनि कार्यकर्ताले रूचाएका छैनन्’

नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक एवं केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे पार्टीको १४ औं महाधिवेशन समयमै हुने दाबी गर्छन्। उनी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको पुस्तामा समेत कार्यकर्ताको विश्वास नरहेको टिप्पणी गर्छन्।

दोस्रो पुस्ताका नेताहरुले उमेरका कारण सिर्जना भएको बाध्यत्मक परिस्थितिले  धमाधम सभापतिमा दाबी प्रस्तुत गरेको उनको धारणा छ। नेता आङ्देम्बेसँँग १४ औं महाधिवेशन, पार्टीभित्रको विवाद र अबको नेतृत्व लगायतका विषयमा काठमाडौंप्रेसका लागि तीर्थराज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः    

-आगामी फागुनका लागि तय भएको १४ औं महाधिवेशन समयमै होला?

हाम्रासामू १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। कोभिड–१९ को महामारीकाबीच पनि हामीले महाधिवेशन सम्पन्न गर्न  पार्टीभित्रका सम्पूर्ण अवयब परिचालन गरेका छौं। पार्टीभित्र आपसी समझदारी र सहमति कायम गरेर तोकिएको मितिमा महाधिवेशन गर्ने लक्ष्यसम्म पुग्नु पर्नेछ। त्यसका लागि आवश्यक काम भइरहेका छन्। महामारीलाई मध्यनजर गरेर काम भइरहेको छ। हामी सबै चुनौती सामना गरेर समयमै महाधिवेशन गर्ने बाटोमा अग्रसर छौँ र महाधिवेशन हुन्छ।

-महाधिवेशनको प्रारम्भिक कामका रुपमा रहेको क्रियाशील सदस्यता वितरण र समायोजनको काम कोरोनाका कारणले प्रभावित भएको देखिन्छ। कसरी समयमा होला त?

त्यो अवस्था त छँदैछ। कोभिडले संसार नै आक्रान्त बनेका बेला नेपाल अछुतो रहन सकेन। सरकारले लकडाउन खोलेपछि संक्रमण बढ्ला अहिले जिल्ला–जिल्लामा सिल गर्नुपर्ने अवस्था सिर्जना भएको छ। काठमाडौं उपत्यकामात्रै होइन, बाहिरका जिल्लामा समेत उहीँ अवस्था छ। यसका बाबजुद पनि अधिवेशन गराउने दिशातर्फ हामी दत्तचित्त छौँ। यद्यपी जनताको जिउ धनभन्दा ठूलो अर्को हुन सक्दैन।

म यतिमात्रै भन्न सक्छु, हामीले महाधिवेशनको तयारीमा पूर्ण ध्यान लगाएका छौँं। तयारी गर्ने क्रममा समेत समस्या निम्तिएका छन्। भयावह अवस्था सिर्जना समेत हुन सक्छ। त्यसैले महाधिवेशन धकेलिन सक्ने सम्भावना पनि छ। हो, अहिले क्रियाशील सदस्यता वितरणमा समस्या उत्पन्न भइरहेको छ। शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता १०० प्रतिशत थप्ने सहमति बनेको छ। हालसम्म २५ देखि ३० जिल्लाले क्रियाशील सदस्यताको फाराम लगेका छन्। केही पहाडी जिल्लामा सहज अवस्था छ। 

तर, धेरै जिल्लामा क्रियाशील सदस्यता फारम लैजान र वितरण गर्न समस्या भइरहेको छ। क्रियाशील सस्दयता फाराम वितरणका लागि छलफल, बैठक गर्ने अवस्था समेत छैन। यद्यपी हामी महाधिवेशन गराउनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। जेनतेन म्यानेज गरेर काम गरिरहेका छौँ। असहजताकाबीच पनि सहजता खोजेर अघि बढ्ने हाम्रो प्रयत्न छ।

-विभाग गठन लगायतका विषयमा संस्थापन इतर समूहले विरोध जनाइरहेको छ। महाधिवेशनको मिति तोकेपछि पनि विभागलाई पूर्णता दिन खोज्नुको कारण के हो?

विभाग गठन गर्दा विवाद गर्नुपर्ने कुनै कारण छैन। विभाग गठनको आफ्नै प्रक्रिया छ। तर, त्यसलाई सतहमा बसेर व्याख्या गरियो। विभाग गठनको प्रक्रिया तीन वर्ष अघिदेखि नै सुरु भएको हो। 

तर, पार्टीभित्रका गुट र त्यसभित्रका पनि उपगुटका कारण विभाग गठन प्रक्रियालाई प्रभावित भयो। पार्टीभित्र देखिएका मुख्य तीन गुट हुन्। सभापतिजी, वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धार भनेर चिनिएका कृष्ण सिटौलाजीको नेतृत्वमा गुट छन्। ती गुटमा पनि उपगुटको प्रभाव छ। तीनै गुटउपगुटको व्यवस्थापनमा कठिनाइ हुँदा विभाग गठन प्रक्रियामा ढिलो हुन पुगेको हो। 

समय घर्किँदै जान थालेपछि हामीले नै सभापतिजीलाई विभाग गठन गर्ने सुझाव दिएका हौं। उहाँले सहमतिमा जोड दिनुभएको थियो। वरिष्ठ नेतासँग नाम माग्नु भएको थियो। पटक–पटक वार्ता गर्नुभएको थियो। सभापतिजीले पर्खिरहनुभयो, वरिष्ठ नेताले नाम दिनुभएन। समय घर्किन थालेपछि सभापतिजीले आफ्नो भागको ६० प्रतिशत राखेर गठन गर्नु भएको हो। विरोध गर्नुको कुनै अर्थ छैन।

-तर, संस्थापन इतर समूहले निर्वाचनको मिति तोकिसकेपछि विभाग गठन गर्नु निर्वाचन आचार संहिता र विधान विपरीत हो भनेर निर्वाचन समितिमा उजुरी गर्नुभएको  छ होइन र?

विभाग गठन गर्ने सभापतिको अधिकारको कुरा हो। सहमतिमै गठन गरौं भनेर सभापतिजीले प्रयास गर्नु भएकै हो। प्रक्रिया अहिले सुरु भएको भए आचारसंहिता विपरीत हुन्थ्यो होला।

तर, अहिले सुरु भएको त होइन। पार्टीभित्रको अस्तव्यस्ततालाई व्यवस्थापन गर्न र अहिलेको सरकारको अर्कमण्यतालाई जनतामाझ पुर्‍याउन विभाग गठन गरिएको हो। त्यसैले विभागकै विषयमा बबण्डर गर्नु पर्ने जुरुरी छैन। पार्टीलाई क्रियाशील बनाउन विभाग गठन गरिएको हो। यसले पार्टी पंक्तिलाई चलायमान बनाउँछ। त्यसैले यही विषयलाई विरोध गर्ने मुद्दा बनाउनु पर्ने कारण छैन।

-सभापतिले अहिले आएर विभाग गठन र मनोनयन महाधिवेशनमा मत प्रभावित गर्न गरेको र यही कारणले महाधिवेशन प्रभावित हुन सक्ने आरोप संस्थापन इतर समूहले लगाइरहेको छ नि? 

महाधिवेशन प्रभावित हुँदैन। अब महाधिवेशन धकेन्न खोजिएको भनेर आरोप लगाउनुभएको हो भने सभापति आफैँ तोकिएको मितिमा गर्ने कुरामा दृढ हुनुहुन्छ। सबै शीर्ष नेता सहमत हुनुहुन्छ।

अब नेतृत्व हत्याउने चाल चालेको आरोप हो भने त्यो सम्भावना देखिँदैन। विभाग गठन गरेर मात्रै नेतृत्व हत्याउन सकिन्छ भन्ने मलाई लाग्दैन। अझै पनि वरिष्ठ नेताको भागमा रहेको ४० प्रतिशत खाली छँदैछ। उहाँले नाम दिए भइहाल्यो। अहिले मनोनित गरिएका साथीहरु पनि सबै खालका हुनुहुन्छ, जस्तो लाग्छ। विभाग गठनकै कारणले निर्वाचनको परिणाम तलमाथि हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। 

-तपाईं नेतृत्वको अनुशासन समितिको निर्णय पछिल्लो समय विवादित बन्यो नि होइन?

मैले यो प्रश्न धेरै पटक सामना गरेको छु। मैले यस विषयमा प्रष्ट धारणा केन्द्रीय समिति बैठकमा राख्न चाहन्छु। यद्यपी केही कुरा त सार्वजनिक भएकै छन्। तर, हामीले जे निर्णय लिएका छौं, त्यो हचुवाका भरमा गरेको निर्णय होइन। हामीले अडियो, भिडियो हेरेर, तथ्य र प्रमाणका आधारमा निर्णय लिएका हौं।

हामीसँग एकातिर विधान अनुसार काम गर्नु थियो। अर्कोतर्फ केन्द्रीय कार्यसमितिले इतिहासमै नभएको के निर्देशन दियो भने– सबै निर्णय सहमतिकै आधारमा गर्नू।  यो विधानभन्दा माथिको निर्देशन थियो। विधान अनुसार प्रमाणका आधारमा टुंगोमा पुग्नु त छँदै थियो, सँगै सहमति गर्नुपर्ने बाध्यात्मक अवस्था पनि थियो।

हामीले विधानलाई पनि आत्मसाथ गरेर सहमतिकै आधारमा निर्णय लिएका हौं। केही केन्द्रीय समितिका साथीहरुले हामीले लिएको निर्णयको विरोध गरेको मैले सुनेको छ। तर, उहाँहरुले के बुझ्नुपथ्र्यो भने हाम्रो समितिमा भएका कोही एक जना साथीले असहमति राख्नुभयो भने निर्णय त परकै कुरा बैठक समेत बस्न सक्दैनथ्यो। समितिभित्र सबै गुटका साथीहरु हुनुहुन्छ। 

अनुशासन समितिमा सर्वसम्मतबाट भएको निर्णयलाई लिएर कोही पानीमाथिको ओभानो बन्न जरुरी छैन। तर, केही साथीहरुले बाहिर बोलेर मुखको स्वाद फेर्ने कोशिश गर्नुएको छ। मेरो बुझाइमा उहाँहरुको त्यो अभिव्यक्ति महाधिवेशन केन्द्रित र सार्वजनिक खपतका लागि आएको हो। किन पनि हो भने अनुसाशन समितिले गरेको निर्णय केन्द्रीय समितिमा पुनरावेदन लिएर खारेज गराउन पनि सकिन्छ।  आखिर अन्तिम निर्णय त केन्द्रीय समितिले लिने हो।

-उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन्छु सहयोग गर्नुस् भनेर सभापति देउवालाई भनिसक्नु भएको छ। यस्तो अवस्थामा संस्थापन समूहबाटै सभापतिमा दुई उम्मेदवार हुने देखियो नि ?

मेरो बुझाइमा संस्थापन समूहबाट सभापतिका लागि दुई जना उम्मेदवार हुँदैनन्। को कुन पदको उम्मेदवार हुने भन्ने विषयमा सल्लाह र छलफलकै आधारमा तय हुन्छ। अहिले उपसभापतिजीले सभापतिमा उम्मेदवारी दिने विषयले तरंग ल्याएको भनेर टिप्पणी भइरहेका छन्। 

सबै विषय यथास्थितिमा रहनुपर्छ भन्ने विश्लेषण पनि ठीक होइन। अहिले कस्तो अवस्था आएको छ भने धेरै नेताहरुले पार्टी नेतृत्वका लागि दाबी गर्नुपर्ने बाध्यत्मक अवस्था समेत सिर्जना भइसकेको छ। उहाँहरु कोही ७० छेउछाउ हुनुहुन्छ, कोही कटिसक्नुभएको छ। अहिले दाबी नगरे १५ औं महाधिवेशनसम्म उहाँहरुको उमेर कसैको ७७-७८ पुगिसक्छ, कोही ७० कटिसकेको हुनुहुनेछ। त्यसैले उहाँहरुले नेतृत्वमा दाबी गर्नुलाई अन्यथा लिन हुँदैन। उपसभापतिको मात्रै होइन अन्य समकालीन तीन–चार जनाले समेत सभापतिमा दाबी गरिरहनु भएको छ।

अहिले कार्यकर्ताको मनोविज्ञान हेर्ने र बुझ्ने हो भने उनीहरुले नयाँ खोजेका छन्। अहिले सभापति र वरिष्ठ नेताबाहेक ज–जसले सभापतिमा दाबी गर्नु भएको छ। उहाँहरुको उमेर समूहलाई पनि कार्यकर्ताले रुचाएको देखिँदैन। 

-उसो भए कार्यकर्ताले युवा नेतृत्व खोजेका छन् भन्न खोज्नुभएको हो? 

हो, युवाप्रति कार्यकर्ताले आशा र भरोसा राखेका छन्। मेरो कुरा गर्ने हो भने म ५७ वर्ष पुगेँ। युवाको परिभाषाभित्र मेरो उमेर पनि पर्दैन। तर, राजनीतिमा भन्ने हो भने म युवा नै हो। अब पार्टीका युवाहरु कसरी सशक्त रुपमा अघि बढ्ने भन्ने विषय महत्वपूर्ण हुन्छ।

पार्टीभित्र संस्थागत रुपमा गुटउपगुट हाबी भएको छ। तीनै गुटउपगुटको प्रभावले पार्टीभित्र डन प्रवृत्ति, नैतिक पतित चरित्र हाबी हुँदै आएको छ। धनवाद र डनबाद हाबी हुँदै गएको अवस्थामा नयाँ सोच बोकेका युवाहरु नेतृत्वमा आउन जरुरी छ। यसको मतलब नेताहरुलाई गाली गर्नुपर्छ, गाली गरेरै नेतृत्वमा आउनुपर्छ भन्ने होइन। 

शालिनताका साथ आफ्नो उपस्थितिलाई बलियो रुपमा प्रस्तुत गर्न सक्नुपर्छ। बार्गेनिङका रुपमा दाबेदारी प्रस्तुत गर्न हुँदैन। यो पदमा दाबी गर्छु र यो पद पाए छोड्छु भन्ने मनोविज्ञान बोक्न हुँदैन। सशक्त रुपमा १४ औं महाधिवेशनमा दाबेदारी प्रस्तुत गर्ने हो। १५ औं महाधिवेशनमा क्लिन स्विप गर्ने हो।

सभापति र वरिष्ठ नेतालाई पहिलो पुस्ता मान्ने हो भने दोस्रो पुस्ताका नेताहरु पनि त्यही दुई वर्ष कान्छो हुनुहोला। त्यसपछि हामी छौं, हामीभन्दा पनि अझ युवाहरु पार्टीमा छन्। उनीहरु भन्दा हामी किन फरक छौं, भनेर देखाउन सक्नुपर्छ। कांग्रेसमा के भयो भने जमेको पानी बगेर गएन। जसका कारण नयाँ पानी आउने ठाउँ रहेन। अब यो अवस्थालाई हामीले चिर्न सक्नुपर्छ। 

-कांग्रेसका युवाहरुले नेतृत्वमा सशक्त रुपमा पुरानो पुस्तालाई चुनौती दिन्छन् भनेर विश्वास गर्न सकिने अवस्था छैन?  

६० वर्षभन्दा मुनिका हामी युवाहरुले पार्टीको नेतृत्व सम्हालेर २१ औं शताब्दीको सोच अनुसार जनताको आशा र भरोसालाई पुरा गर्नुपर्छ। मेरो–तेरो नभनेर इमान्दारीका साथ एक भएर पुराना पुस्तालाई रिप्लेस गर्ने आँट देखाउनुपर्छ। १४ औं महाधिवेशनमा यो गुट, त्यो गुट नभनेर छुट्टै समिकरण बनाउनुपर्छ। सबैले नयाँ समिकरण बनाउने र सशक्त दाबेदारी गर्ने कुरामा अठोट गर्नु पर्छ। 

-गुटउपगुटले पार्टीमा विकृति निम्तिएको छ भन्नुभयो। के १४ औँ महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुट अन्त्य होला?

१४ औं महाधिवेशनले गुटउपगुटको अन्त्य गर्नेछ। धेरै अर्थमा १४ औं महाधिवेशन ऐतिहासिक हुनेछ। गुटउपगुटको अन्त्यसँगै युवा पुस्ताको सशक्त दाबेदारी प्रस्तुत गर्ने सवालमा समेत महाधिवेशन ऐतिहासिक हुनेछ।

हाम्रो पुस्ता जुन छ, यो गुटउपगुटको दलदलमा फसिसकेको पुस्ता होइन। म कसैलाई निषेध गरेर जानुपर्छ त भन्दिनँ। तर, हाम्रो पुस्ताले अझै २० वर्ष र हामीभन्दा युवाहरुको पुस्ताले ३०-३५ वर्ष राजनीति गर्नुछ। त्यसैले गुटउपगुटको किचलोभित्र छिरेर हामीले युवा पुस्ताको सोचलाई सम्बोधन गर्न सक्दैनौं।

-अहिले नेकपाले करिब दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरेको छ। १४ औं महाधिवेशनबाट आउने नेतृत्वसामू पार्टीको साख फर्काउनुपर्ने चुनौती छ। के यो चुनौतीको समाना गर्ने ल्याकत बोकेको नेतृत्व कांग्रेसले पाउला?

म कुनै उमेर समूहलाई निषेध गर्नु पर्छ भन्दिनँ। सबै उमेर समूहको उपस्थितिको सम्मान गर्न चाहन्छु। पहिलो पुस्ता (सभापति र वरिष्ठ नेता)लाई विनम्रताका साथ आग्रह गरौं– तपाईंहरुले पुस्तान्तरण गरिदिनुहोस्, सन्न्यास लिइदिनुहोस् भनेर। तर, अनुनय, विनय नगरौं।

तर, यति भन्दाभन्दै पनि उहाँहरुले लड्छु भन्नुभयो भने हाम्रो जति हक छ, उहाँहरुको पनि त्यति नै छ। अहिलेसम्म सभापति र वरिष्ठ नेता दुवैले आफूलाई  सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्नु भएको छ। तर, कम्युनिष्टसँग लड्न र देशलाई अघि बढाउन नयाँ पुस्ता नै चाहिन्छ। कोरोना संकटमा मानवीय संवेदनशीलतालाई भुलेर भ्रष्टाचारमा लिप्त बनेको सरकारसँग जनता रुष्ट छन्, निरास बनेका छन्।

हामीले जनतामा आशा जगाउनु पर्नेछ। आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुछ। जनताका भावना अनुसारको काम गर्दै मुलुकलाई विकासको पथमा लैजानु पर्छ। यो चानचुने चुनौती होइन। तर, अबको महाधिवेशनले यो चुनौती बहन गर्न सक्ने नेतृत्व छनोट गर्छ भन्नेमा म विश्वस्त छु।
 

 Published Date: Tuesday, 18th August 15:51:25 PM

 

सिफारिस गरिएको

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई ६ महिनासम्म…

१० मिनेट पहिले

एमसीसी पासदेखि मन्त्रिपरिषद् हेरफेरको सुझाव…

२० घण्टा पहिले

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

२२ घण्टा पहिले

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्