Kathmandu Press

‘बहुमतको दम्भ ओली-प्रचण्ड दुवैले देखाउनु हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष  एव‌ ‌‌ प्रधानमन्त्री  केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएपछि  पार्टीको आ....

‘बहुमतको दम्भ ओली-प्रचण्ड दुवैले देखाउनु हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष  एव‌ ‌‌ प्रधानमन्त्री  केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएपछि  पार्टीको आन्तरिक राजनीति अहिले त्यसतर्फ  केन्द्रित भएकाे छ। 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू परिबन्धमा परेकाले महाधिवेशनको प्रस्तावमा मौन रहेको आफ्ना निकटहरु समक्ष बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरसँगको छलफलमा प्रचण्डले परिबन्धमा परेर आफू मौन रहेपनि मंसिरमा महाधिवेशन गर्नेबारे ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पारिसकेका छन्। 

नेकपाको महाधिवेशन मंसिरमा होला कि नहोला?, प्रचण्ड परिबन्धमा परेका हुन् वा होइनन्। गुट परिवर्तनको आरोप खेपिरहेका स्थायी कमिटी सदस्य टोपबहादुर  रायमाझीले प्रचण्डलाई छाडेकै हुन् त? यस्तै विषयमा केन्द्रित रहेर रायमाझीसँग काठमाडौं प्रेसका लागि शिशिर ढकालले गरेको कुराकानीको सम्पादित अंश : 

-मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव विवादलाई विषायन्तर गर्न ल्याइएको हो कि विवाद समाधान गर्न तपाईंको बुझाइ के छ?

महाधिवेशनको प्रस्तावमा शंका पनि गर्न सकिन्छ, विश्वास पनि गर्न सकिन्छ। एकता हुँदा दुई अध्यक्ष प्रणाली रहने र नयाँ निर्णय गर्दा सहमतिबाट गर्ने भन्ने समझदारी भएकाे थियो। योबीचमा पार्टीभित्र देखिएको अन्तरविरोध समाधानको उपायमा महाधिवेशन पनि महत्वपूर्ण विकल्प हो। महाधिवेशनका विषयमा निर्णय भइसकेको छैन। हामीले स्थायी कमिटीबाटै  प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीबाट अनुमोदन गराउने वा महाधिवेशनबाटै सम्पूर्ण विवादको समाधान गर्ने भन्ने विकल्पमा छलफल भइरहेको छ। 

-पार्टी सदस्यता नवीकरण समेत नभएको अवस्थामा मंसिरमै महाधिवेशन गर्ने कुरा सम्भव होला त?

केन्द्रीय कमिटीले पहिला चैतमा महाधिवेशन गर्ने भन्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई क्रस गरेर फेरि मंसिरमा गर्ने प्रस्ताव आएको छ। त्यो कति उचित  हुने हो भन्ने प्रश्न उठ्नु स्वभाविक छ। हामी  इमान्दारितापूर्वक लाग्ने हो भने मंसिरमा महाधिवेशन गर्ने कुरा असम्भव हुन्छ जस्तो मलाई लाग्दैन। चाडपर्व, कोरोनाको महामारी, बाढीपहिरोको क्षतिका कारण केही समस्या पर्ला तर सम्भव नै नहुने भन्ने चाहिँ होइन। 

-नेकपाभित्र महाधिवेशन केन्द्रित राजनीति सुरु भइसकेको छ, अंकगणित बलियो बनाउन केन्द्रित नेतृत्वले कसरी सहमति कायम गर्लान्?
 
महाधिवेशनभन्दा अगाडि बहुमतीय प्रणालीबाट हामी अघि बढ्न सक्दैनौं। अहिले देखा परेका अन्तरविरोधहरु बहुमतीय प्रणालीबाट समाधान गर्न सकिँदैन।  पार्टी एकता गर्दाका सहमतिका आधारमा पनि बहमुत र अल्पमतमा पारेर निर्णय गर्न नेतृत्वलाई छुट हुदैन।

 

पार्टीमा देखा परेका अन्तरविरोधहरुलाई सचिवालयले टुंगो लगाउन सकेन भने स्थायी कमिटीमा छलफल गर्ने र ती विषयलाई केन्द्रीय कमिटी समक्ष लगेर नेतृत्व तथा महाधिवेशनसँग सम्बन्धित विषयको पनि छिनोफानो त्यहीँबाट गर्नुपर्छ। अहिले कसैसँग विचार मिल्दा गठबन्धन निर्माण भएको हो कि भन्ने शंका हुनु स्वभाविक हो। तर गठबन्धन र गुटबन्दीमा हामी विश्वास राख्दैनौं।

-अन्तरविरोधका विषय छलफलबाट समाधान गर्नुपर्ने जिम्मेवारी बोकेको स्थायी कमिटी बैठक आठ पटक स्थगित हुनु कति जायज हो?

नेतृत्वका विषयमा अन्तरविरोध आइरहेको छ। पार्टी एकताका अधुरा काम, पार्टी सञ्चालनको विधिका विषयमा प्रश्नहरु उठेका छन्। सरकारको काम कारबाही, सीमानाको विषयमा प्रश्न उठिरहेका छन्। कोरोना भाइरस, बाढीपहिरो लगायतका जनजीविकाका सवालमा थुप्रै प्रश्नहरु छन्। यिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा स्थायी कमिटीमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार गर्नुपर्ने जिम्मेवारी छ। यस्तो जिम्मेवारी बोकेको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुनु राम्रो पक्कै  होइन। आगामी बैठकले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउन केही न केही प्रस्ताव अवश्य तयार गर्छ। 

-पार्टी अध्यक्ष केपी ओलीसँग असमझदारी बढिरहेको अवस्थामा शीर्ष नेताहरुबीच कसरी समझदारी कायम होला?

पार्टीका शीर्ष नेताहरुबीच गतिरोध अन्त्यका लागि सहमति कायम हुन्छ। केपी ओलीसँगै सहमति कायम गरेर अघि बढ्नुको विकल्प छैन। शीर्ष नेतृत्वमा देखिएको अन्तरविरोध होस् वा सचिवालयमा रहेका नेताहरुमा देखिएको विवाद वा स्थायी कमिटीमा भएका नेताहरुबीचको खटपट लगायत सबै कुरा सहमतिबाटै टुंग्याउन सक्छौं। सहमति बाहेकको  दोस्रो विकल्प नेतृत्वसँग छैन। पार्टी एकतालाई असर पार्ने हर्कत कसैले  पनि गर्नुहुँदैन।

-महाधिवेशनका विषयमा मौन समर्थन जनाउनुभएका अध्यक्ष प्रचण्डले आफू परिबन्धमा परेको तर्क गर्नुभएको छ।  प्रचण्ड कस्तो परिबन्धमा पर्नुभएको हो?

पार्टी अध्यक्ष, नेता वा कार्यकर्ता परिबन्धमा पर्ने भन्ने सवाल नै उठ्दैन। आफ्ना विचार राख्न, छलफल गर्न र निष्कर्ष निकाल्न सबै स्वतन्त्र हुन्छन्। प्रचण्ड कुनै परिबन्धमा हुनुहुन्न।

-प्रचण्डको साथ छोडेर तपाईं अन्यत्र लाग्नुभएको भन्ने चर्चा छ। तपाईं  अहिले कुन गुटमा  हुनुहुन्छ?

म खेमामा विश्वास राख्दिनँ, गुटमा विश्वास राख्दिनँ। समिकरणमा विश्वास राख्दिनँ। म पार्टीको जिम्मेवार सिपाही हुँ। म नेकपाप्रति इमान्दार छु। कुनै समिकरणबाट समस्याको समाधान हुँदैन भन्ने मेरो विश्वास छ। हामीले हाम्रा विगतका पुल वा समूह भत्काएर नेकपा बनाएको अवस्थामा फेरि पूर्वमाओवीदी गुट वा एमाले गुट बनाउने हो भने यो पार्टी एकताको औचित्य नै समाप्त हुन्छ।

 

अहिले पार्टीमा देखा परेका अन्तरविरोधको समाधान सामूहिक पहलबाट हुनुपर्छ भन्ने मेरो मान्यता छ। नेकपालाई एकीकृत र केन्द्रिकृत बनाएर जानुपर्छ भन्नेमा म प्रष्ट छु। नेकपालाई नीति, योजना र कार्यक्रमको आधारमा राष्ट्रको आवश्यकताको आधारमा अघि बढाउनुपर्छ भन्नेमा म दृढ छु। कतिपयले मैले गुट परिवर्तन गरेको हल्लाह फिजाएका होलान् त्यसमा कुनै सत्यता छैन। 

-महाधिवेशनमा जाने विषयमा समझदारी कायम भएको देखिएपनि पार्टीको विचारमा विवाद कायमै छ। यसको समाधान कसरी गर्न सकिन्छ?

विचारको विषयमा अहिले धेरै बहस गरिरहनु आवश्यकता छैन। पार्टीको विचार जनताको बहुदलीय जनबाद हुने वा जनताको जनबाद हुने भन्ने विषयलाई महाधिवेशनमै बहस गर्नुपर्छ। अहिले विचारमा निष्कर्ष निकाल्ने समय होइन। महाधिवेशनअघिको  संक्रमणकालीन अवस्थामा पार्टीलाई सञ्चालन गर्न एउटा विधि बनाएर अघि बढ्नुपर्छ।

-शक्ति संघर्षको विवादमा रुमलिएका शीर्ष नेता अब कसरी अघि बढ्नुपर्ला ? तपाईंको सुझाव के छ?

एकतालाई केन्द्रविन्दुमा राखेर आफ्ना बहस छलफल र कार्यक्रमलाई नेतृत्वले अघि बढाउनु पर्छ। बहुमतको दम्भ कसैले पनि प्रस्तुत गर्नुहुँदैन। कार्यकर्ताको योगदान, जनताको आशालाई केन्द्रविन्दुमा राखेर निचोडमा पुग्नुपर्छ। शक्ति आर्जनका लागि मात्रै केन्द्रित हुनुहुँदैन।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्