कोरोना भाइरसः संक्रमण रोक्न भीडभाडमा नजान तथा हात नमिलाउन अपिल
काठमाडौं, फागुन २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अ....

काठमाडौं, फागुन २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ ।
मन्त्रालयले विद्यालय, शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न, स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ ।
यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने, हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने गर्न पनि सो अपिलमा भनिएको छ ।
अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउन, सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त, अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिन र सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्न मन्त्रालयले आग्रह गरेको छ ।











