आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।
काठमाडौं, कात्तिक ९ : पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन्।
रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् ।
चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।











