कोरोना भाइरसको असरबारे सरकारले थाल्यो अध्ययन
काठमाडाैं, फागुन २२ : विश्वव्यापीरूपमा आतंकका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु ....

काठमाडाैं, फागुन २२ : विश्वव्यापीरूपमा आतंकका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ।
कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
उनले भने, “कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम शुरु गरिसकेको छ।”
चीनबाट फैलिएको कोरोना भाइरसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न थालिसकेको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारसमेत तत्कालका लागि स्थगन गरेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिने थालेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले समग्र पक्षको अध्ययन शुरु गरिएको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालीन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर सरकार अगाडि बढ्ने स्पष्ट पारे। नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने प्रवर्द्धनका काम तत्कालका लागि स्थगित गर्ने निर्णय भएको उनले जानकारी दिए।
विश्वव्यापीरूपमा समस्या कस्तो प्रभाव देखिन्छ सोही आधारमा नै थप व्यवस्था एवं निर्णय गर्दै जाने सोचाइमा रहेको उनको भनाइ छ। यस्तै कतिपय निर्णयमा अन्तर्राष्टिय कानूनलाई हेरेर पनि निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।











