२५ लाख रुपैयाँ घुस माग्ने गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं, फागुन २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटस्थित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष र....

काठमाडौं, फागुन २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटस्थित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग २५ लाख ५० हजार रुपैयाँ घुस मागेको भन्दै अख्तियारले बिहीबार गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
गाउँपालिकाका अध्यक्ष केसीले सेवाग्राहीसँग कमिसन दिनुपर्यो भन्दै धम्की दिँदै पटक–पटक नगद र बैंक खातामा रकम जम्मा गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ। केसी र शाहीले एकापसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापतको रकमका लागि बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले पटक–पटक नगद तथा बैंक खातामा जम्मा गर्न, विभिन्न होटलका बिल तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाएको पनि अभियोग पत्रमा उल्लेख छ। उनीहरूले विभिन्न बहानामा साढे २५ लाख रुपैयाँ घुस लिएको पुुष्टि भएको अख्तियारको दाबी छ। उनीहरूलाई कैद, बिगो तथा जरिवानाको समेत माग गरिएको छ।
यसैबीच, अख्तियारले अध्यक्ष केसीविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। केसी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले सडक निर्माणका काममा ८ लाख रुपैयाँ घुस मागेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
सोही गाउँपालिकाको वडा नम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने घुस लिँदै गर्दा रंगे हात पक्राउ परेका थिए।











