Kathmandu Press

जलवायु परिवर्तनबाट हिमालमा पारेको असरबारे चिन्ता

बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए।
जलवायु परिवर्तनबाट हिमालमा पारेको असरबारे चिन्ता

कास्की, मंसिर २५ : पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ। पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको हो।

बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए। बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए। ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ। पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ।’

Hardik ivf

पत्रकार कुन्द दीक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताउँदै हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने उल्लेख गरे।

‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दिक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ।’ उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए।

अर्का वक्ता डा. जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए। उनले जलवायु परिवर्तनले गर्दा जनजीवनमै असर गरिरहेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे। जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे।

आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए।

शुक्रबार सुरु भएको महोत्सव मंगलबार सकिँदैछ। महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन्।

प्रकाशित मिति: २०:३७ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्