जबजले पार्टी र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्छ: नेपाल
काठमाडाैं, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को उपदेयता अझै रहेको बताएका छन्।
....
काठमाडाैं, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को उपदेयता अझै रहेको बताएका छन्।
मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडाैंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उनले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेकाले जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताए।
कतिपयले जबजलाई माक्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै नेपालले जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिए। मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उनले पार्टी एकतापछि जबज र २१ औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिए।
जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए। “समाजवाद नै अहिलेको ध्येय हो। त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उनले भने। रासस











