Kathmandu Press

कोरोनाले काठमाडौं हुने विश्वकप छनोट खेल स्थगित

काठमाडौं, फागुन २२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैत दोस्रो साता काठमाडौंमा गर्न लागिएको विश्वकप छनोट खेल नहुने भएको छ। विश्वक....

कोरोनाले काठमाडौं हुने विश्वकप छनोट खेल स्थगित

काठमाडौं, फागुन २२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैत दोस्रो साता काठमाडौंमा गर्न लागिएको विश्वकप छनोट खेल नहुने भएको छ। विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइ र अस्ट्रेलियासँगको खेल तत्काललाई स्थगित हुने भएको एन्फाले जनाएको छ।

सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले होम गेम खेल्न लागेको हो। नेपालले चैत १३ गते चाइनिज ताइपेइ र १८ गते अस्ट्रेलियासँग खेल्ने तालिका थियो।  

विश्वकप छनोटको खेल तालिका परिवर्तन गर्न अस्ट्रेलियन फुटबल संघले एसियन फुटबल महासंघ (एएफसी)मा निवदेन दिइसकेकाले खेल मिति परिवर्तन हुने निश्चित भएको एन्फा प्रवक्ता किरण राई बताए। कोरनाकै कारण अस्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई देशबाहिर नजान आग्रह गरिसकेको छ।

‘चाइनिज ताइपेइ र अस्ट्रेलियाविरुद्धको खेल सर्ने पक्का भएको छ। अस्ट्रेलियाले खेल सार्न निवेदन नै दिइसेको छ,’ एन्फा प्रवक्ता राई काठमाडौंप्रेससँग भने, ‘खेल सार्ने मौखिक कुरा भएको छ, तर आधिकारिक निर्णय भने भएको छैन, एएफसीले छिट्टै नयाँ मिति घोषणा गर्ला।’

प्रवक्ता राईले चाइनिज ताइपेइले भने खेल सार्न निवेदन नदिएको पनि बताए। उनकाअनुसार, नयाँ मितिका विषयमा फिफा र एएफसीमा छलफल चलिरहेको छ। विश्वकप छनोटअन्तर्गतको होम गेमका लागि एन्फाले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेको छ।

कोरोना भाइरस संक्रमणकै कारण विश्वकप छनोटअन्तर्गत इरान र कोम्बोडियाबीचको खेल एसियाली फुटबल महासंघ (एएफसी)ले स्थगित गरिसकेको छ। यस्तै, महिला ओलम्पिक छनोटअन्तर्गत चीनको खेल दोस्रो देशमा आयोजना गर्ने निर्णय भएको छ।  

यसैगरी गत सोमबार बसेको एएफसीको आकस्मिक बैठकले एएफसी च्याम्पियन्स लिगको इस्ट जोनका खेल पनि स्थगित गरेको छ। एएफसीले मार्च र अप्रिलका लागि तय भएका खेल मेसम्म स्थगित गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्