बोलेरो दुर्घटनामा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित सात गम्भीर घाइते
गोरखा, फागुन २२ : गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बोलेरो दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।
गोरखा, फागुन २२ : गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बोलेरो दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीका अनुसार, ग १ ज ५५०५ नम्बरको बोलेरो सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।
दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ, गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल संस्थाका कर्मचारी सरोज गुरुङ र बोलेरो चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ। घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको छ।
वर्षा भएकाले कच्ची सडकमा बोलेरो घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।











