गत मंसिर १२ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियन गुटेरेस नेपालको औपचारिक भ्रमणमा आए। चारदिने नेपाल भ्रमण गरेका उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वसामु चिन्ता र चासो व्यक्त गरे।
तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लँदै गएको भन्दै उनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने वाचा पनि गरेका थिए।
सोही क्रममा महासचिव गुटेरेसले अन्नपूर्ण आधारशिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपालमा भनेअनुसार नै कोप–२८ गुटेरेसले नेपाल जलवायु परिवर्तनको चपेटमा परेको उल्लेख गर्दै उनले सहायता गर्नुपर्ने बताए। उनले नेपाल आफैं कार्बन उत्सर्जन नगर्ने तर अरुले उत्सर्जन गरेको कार्वनको असर नेपालले खेपिरहरेको बताए।
कोप–२८ मा नेपालको सहभागिता, एन्टोनिया गुटेरेसको नेपाल भ्रमण र जलवायु परिवर्तनको असर लगायत नेपाल न्युज बैंकले जलवायु परिवर्तन विषेशज्ञ डा. ङमीन्द्र दाहालसँग गरेको कुराकानी :
युनाइटेड अरब ईमिरेटस्मा भइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट नेपालले के लाभ उठाउन सक्छ ? नेपालको सहभागितालाई तपाईं कसरी हेर्नुभएको छ?
यो जलवायु सम्बन्धी विश्व सम्मेलन हो। यसपालिको कोप २८ सम्मेलन अरब देशले आयोजना गर्यो। तेल निर्यात गर्ने र जलवायु परिवर्तनको प्रमुख कारक रहेको युनाइटेड अरब ईमिरेटस्मा भएकोले यो सम्मेलन सान्दर्भिक छ। नेपालको सहभागिको कुरा गर्ने हो भने त्यो विश्व सम्मेलन हो, त्यहाँ जे सहमति भएपनि सामूहिक सहमति मात्रै हुन्छन्। नेपालले आफ्ना समस्याहरु एक्लैले उठाएर प्रभावकारी हुँदैन। विश्भरका हिमालय देशहरुको छुट्टै एजेण्डा र सहमति अनुसारको प्रस्ताव चाहिन्छ। तर, यसो हुन सकेन। नेपालले आफ्ना एजेण्डाहरु दरिलो हिसाबले राख्न सकेको छैन। जसरी अन्य सामुन्द्रीक देशले हामी चपेटामा पर्यौँ भनेको थियो। त्यसैले नेपालको प्रभावकारीता बढेको छ। तर, यसले नतिजा ल्याउने अपेक्षा गर्न सकिँदैन।
नेपालले जलवायु परिवर्तनको संकट खेपिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा गरेको चासो र चिन्तालाई आधार मानेर हेर्दा संयुक्त राष्ट्रसंघबाट नेपालले केही आश गर्न सक्छ ?
महासचिव एन्टोनिया गुटेरेसको भ्रमणले नेपालमा विश्वको ध्यान आकर्षित भएकै हो। यो भन्दा पहिले पनि नेपाल विभिन्न कारणले गर्दा आकर्षित भएको हो। तर, जव वार्ताका कुरा आउँछन्। वार्तामा आफ्नो एजेण्डामात्र उठाइएको पाइएको इतिहासले देखाउँछ। यो एक राजनीति गर्ने थलो पनि हो। त्यसैले, सहानुभुति पहिले देखि पाइरहकै हो। केही सहयोग नै पाइहाल्छौं भन्ने आश किन गर्न सक्दैनौँ भने, उहाँले बोलेको कुराले वार्ता गर्न र एजेण्डा प्रस्तुत गर्न सजिलो होला तर जलवायु कोषबाट वित्तिय सहयोगहरु पाउन नेपालको छुट्टै प्रस्तावना चाहिन्छ। केन्द्रित तयारी गरेर अन्य तयारी नगर्दा हामी अझै धेरै जोखिममा पर्यौँ। त्यसैले धेरै आशा राखि नहालौँ।
हिमालमा हिउँ पग्लिएर काला पहाड देखिन थालेका छन्। ऋतु नै परिवर्तन भैसकेका छन्। यस्तो अवस्था आउनुलाई जलवायु परिवर्तनको असर भन्ने कि जलवायु संकट?
खासमा यो जलवायु परिवर्तन नै हो। तर, यो कति सघन हुँदै गएको छ भन्ने कुरा हो। नेपालको सन्दर्भमा जलवायु परिवर्तनको तिव्रता उच्च छ। जलवायुु परिवर्तनका कारण जस्को घरबार नै ध्वस्त भयो उसको लागि यो स्वतः संकट भई नै हाल्यो। त्यसैले नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका सन्दर्भमा यसलाई संकट भन्न सकिन्छ।
जलवायु परिवर्तनको असरका कारक नेपाली स्वयं कति छौं?
हाम्रो परम्परागत जीवनशैली, खेती प्रणाली जलवायु अनुकूलित हो। हामी नेपाली चाहीं प्रकृतीप्रेमी हौं। नेपालमा भएको बन जंगल कार्वन उत्सर्जनका लागि नभइ नविकरणीय उर्जाको रुपमा लिइरहेका छौं। तर, पछिल्लो समय विकासमा फड्को मार्दैगर्दा सहि ढंगले चलाउन सकिरहेका छैनौँ। अहिलेसम्म जलवायु अनुकुलित नै छौं। अब विकास निर्माणका कामहरु गर्दै गर्दा ध्यान दिनुपर्ने जरुरी देखिन्छ।