Kathmandu Press

नख्खु जेल ब्रेकर धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिए

झापा, फागुन २० : नख्खु जेल ब्रेकरका रुपमा चर्चित धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिएका छन्।

आज बिहान उनी पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटि....

नख्खु जेल ब्रेकर धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिए

झापा, फागुन २० : नख्खु जेल ब्रेकरका रुपमा चर्चित धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिएका छन्।

आज बिहान उनी पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएको काँकडभिट्टा ईलाका प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरे मृत भेटिएका हुन्। उनी संविधानसभा सदस्य पनि भएका थिए।

झापाको मेचीनगर–१३ दुहागढीका उनी आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ। तीन दिनअघि दाह्री काट्न घर नजीकैको ‘चारआली बजार जान्छु’ भनी निस्किएका उनी त्यसपछि सम्पर्कविहीन रहेका थिए।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ। नेपालबाट गएका उनका भाइ नरेन्द्रले शव पहिचान गरेको डीएसपी पोखरेलले बताए।

२०२३ देखि कम्युनिस्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ को संविधानसभा चुनावमा झापा क्षेत्र नं. १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए।

उनी झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष जेल बसेका थिए। नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक हुन्।  

भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको डीएसपी पोखरेलले बताए। मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्