Kathmandu Press

प्रदेश २ काे नाम तोक्न २३ गते मतदानको तयारी

जनकपुर, फागुन २० : प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेश सभामा मतदानमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ। प....

प्रदेश २ काे नाम तोक्न २३ गते मतदानको तयारी
फाइल फाेटाे

जनकपुर, फागुन २० : प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेश सभामा मतदानमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ। प्रदेश सभा सचिवालयले मतदानमार्फत प्रदेश २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो।

प्रदेश सभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ। फागुन २२ गते बस्ने प्रदेश सभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो।

सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेश सभा बैठक यही फागुन २२ मा बोलाइएको बताए। उनले फागुन २२ गते दिउँसो १ बजे प्रदेश सभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए।

सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरू हुनेछ। प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको र सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गरिने सभामुख यादवले बताए।

प्रदेश २ को स्थायी राजधानीबारे सबै दल एकमत भए पनि प्रदेशको नाममा सहमति हुनसकेको छैन। प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मतरूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो।

समितिले प्रदेशको राजधानीको टुङ्गो लगाए पनि प्रदेशको नामकरण भने टुङ्गो लगाउन सकेको छैन। समितिको पहिलो बैठक सुरू भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो।

सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन्। प्रदेशको नामकरणबारे सहमति जुटाउन पटक–पटक बसेको समितिको बैठकमा सत्तारूढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो।

मधेश जोड्दै नेकपाले जानकी–मधेश र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारूढ दललाई सुझाएका थिए। नामकरण गर्न प्रदेश सभाका एक सय सात सदस्यमध्ये दुई तिहाइ अर्थात ७२ सदस्य आवश्यक पर्नेछ।

प्रदेश २ मा सत्तारूढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सदस्य छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, कांग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी फोरमका एक सदस्य छन्।

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्