छठ पर्व मनाउने पहाडिया समुदाय बढ्दै
-1700380870.jpg)
चितवन, मंसिर ३ : तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन्।
छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन्। तराई सामुदायीक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएको छ।
यहाँ पूजा गर्न आउनेको सङ्ख्या बर्सेनी बढ्दै गएको समितिका सल्लाहाकार राजकुमार गुप्ताले बताए। उनले भन्नुभयो 'तराई मुलकासँगै पाहाडिया समुदायका व्यक्तिमा पनि छठपर्वको महत्त्व बढ्दै गएको छ। अहिले ४५ प्रतिशत हाराहारी पाहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन्।'
गुप्ताका अनुसार २०२२ ;सालतिर नारायणगढमा छ/सात घरले मात्रै छठपर्व मनाउने गरेकामा अहिले यो सङ्ख्या बढेको हो। प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उनकाे भनाइ थियो। उनले थपे 'छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ।' छठपर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले बताए।
व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको सङ्ख्या पाहाडिया समुदायमा बढ्दै गएको भन्दै उनले भन्नुभयो 'पहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन वढ्दै गएको छ।'
नदी किनारमा बसी बालुवाको स्तुप बनाउने भन्दा प्रसाद चढाउन आउने पाहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहाकार गुप्ताले जानकारी दिए। यसवर्ष नारायणी नदी किनारमा २५/३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उनले बताए। समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ। व्रत बस्ने भन्दा हेर्न आउनेको सङ्ख्या निकै धेरै हुने उनले जानकारी दिए।
भरतपुर–१० की जुना पौडेलले विगत पाँच वर्षदेखि छठीमाईको पूजा गर्दै आएको बताए। उनले भन्नुभयो 'छठीमाईको वर्त बस्दा मनलाई शािन्त मिल्नुका साथै मनोकाङ्क्षा पूरा भएपछि हरेक वर्ष व्रत बस्ने गरेकी छु।' आफू मात्रै नभइ अन्य दिदीबहिनी पनि परिवारको श्रीवृद्धि र दिर्घायुको कामना गर्दै छठपर्वको व्रत बस्ने गरेका उनकाे भनाइ थियो।
भरतपुर–१९ की नवीना चौलागाईं ढकालले दुई वर्षदेखि छठपर्वको व्रत बस्न थालेको बताए। छठीमाईप्रति विश्वास भएकाले व्रत बस्न थालेको बताउँदै उनले व्रत बस्दा मनोकाङ्क्षा पूरा भएको अनुभव सुनाए। विधिपूर्वक व्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ चढाउने, प्रसाद चढाउने गरेको उनले जानकारी दिए।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँदैछ।
छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अर्घ चढाउने गरिन्छ। छठपर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ।











