Kathmandu Press

छठले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन तथा आपसि सद्भाव बढाउँछ : राष्ट्रपति

प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन्।
छठले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन तथा आपसि सद्भाव बढाउँछ : राष्ट्रपति

काठमाडौं, मंसिर २ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा शुभकामना दिएका छन्।

उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठले प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन्।

प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन्।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन्। उनले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने उल्लेख गरेका छन्।

सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना दिएका छन्।

त्यस्तै राजनीतिक दलहरुले पनि विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना व्यक्त गरेका छन्।

सूर्य देवता र छठीमाताको पूजाअर्चना गर्नु छठ पर्वको मुख्य विशेषता हो। यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व मनाइन्छ।

खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ।

विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्