विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गयो : नेता कोइराला
जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए।-1700317777.jpg)
काठमाडौं, मंसिर २ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गएको बताएका छन्।
शनिबार विराटनगरमा पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने प्रस्ट पारे।
‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ।’
जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए।
‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्टे«लिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन।’
उनले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको भनाई छ।











