कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा
पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो।चितवन, मंसिर २ : स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ। पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ।
कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहनेछ। साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उनले जानकारी दिए।
यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुने कट्टेलले बताए। उनका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ। साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिनेछ।
कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिए। 'विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ। कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ', उनले भने, 'दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिने छ। अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने छ।'
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलको भनाइ थियो। उनका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलोपटक गर्न लागिएको हो। यसले नयाँ उपलब्धिहरुको आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ।