टिकटक प्रतिबन्धविरुद्ध सडकमा प्रयोगकर्ता
उनीहरूले टिकटक प्रयोग गर्न पाउनु नागरिककाे अभिव्यक्ति स्वतन्त्रता भएकाे बताएका छन्। उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाएका छन्। टिकटकमा लगाएकाे प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूकाे माग छ।
काठमाडौं, मंसिर २ : सरकारले नेपालमा टिकटक प्रयोग गर्न रोक लगाएपछि प्रयोगकर्ताहरू विरोधमा उत्रिएका छन्। टिकटक प्रयोगकर्ताहरू आज माइतीघर मण्डलामा भेला भएर सरकारले गरेको निर्णयप्रति विरोध जनाएका हुन्। उनीहरूले टिकटक प्रयोग गर्न पाउनु नागरिककाे अभिव्यक्ति स्वतन्त्रता भएकाे बताएका छन्। उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाएका छन्। टिकटकमा लगाएकाे प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूकाे माग छ।
सरकारले कात्तिक २७ गते सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा त्यसको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो। लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो।
प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सघाउन आग्रह गरेको छ। प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ। टिकटक बन्द गर्ने सरकारो निर्णय संविधानविपरीत भएको दाबीसहित शुक्रबार सर्वाेच्च अदालतमा १० वटा निवेदन परेका छन्।