मंसिर ७ वार्मअप मात्रै, पूरा फिल्मको तयारी भइरहेको छ : एमाले महासचिव पोखरेल

काठमाडौं, मंसिर २ : एमाले महासचिव शंकर पोखरेलले मंसिर ७ गते काठमाडौंमा युवा संघले गर्ने भनेको बृहत् जनप्रदर्शन वार्मअप मात्रै भएको बताएका छन्।
मंसिर ७ गते युवासंघले गर्ने भनेको जनप्रर्दशनअघि आज पार्टी कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले, ठुलो आन्दोलनको तयारी भइरहेको खुलासा गरेका हुन्। उनले भने ‘मंसिर सात एक प्रकारले भन्नु हुन्छ भने हाम्रो अभियानको वार्मअप मात्रै हो। पुरा फिल्म देख्न लागि त हामी अझ तयारीको यात्रामा जुटिरहेका छौँ। यो मुलुकमा अहिले जुन खालका वेथिति भइरहेको छ। के हामी सबै प्रकारका वेथिति टुलुटुलु हेरेर बस्न सक्छौँ ?’ शनिबार केन्द्रीय कार्यालय च्यासलमा जारी भेलालाई सम्बोधन गर्दै पोखरेलले अहिले सबैले एमालेमाथि निसाना साँधेको जिकिर गरे।
‘सत्तामा बस्नेहरुको निसाना एमाले, पुराना होइन नयाँ भन्नेहरुको निसाना पनि एमाले, परिर्वतन असफल भयो अब राजा नै चाहिन्छ भन्नेहरु प्रतिगामिहरुको निसाना पनि एमाले। के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टी माथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नु पर्दछ,’ उनले भने, ‘यो एमालेमाथिको प्रहार होइन, देशभक्तहरुमाथिको प्रहार हो। यो एमाले नेतृत्वमाथिको प्रहार होइन नेपाली जनताको भविश्वमाथिको प्रहार हो भन्ने कुरालाई बुझ्न जरुरी छ र त्यो प्रहारकाविरुद्धमा नेपाली जनतालाई उभ्याउनका लागि युवा र विद्यार्थीहरु उठ्न जरुरी छ। राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब एमाले सम्बद्ध युवा विद्यार्थीहरुको मोर्चा कसेका छन्। ’
जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ। भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए। उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए।
यही सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन्। मुलुकमा व्याप्त बेथिती,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनले बताइन्। भेला जाजरकोट भुकम्प प्रभावितको लागि स्वंसेवी अभियान,मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उनको भनाइ थियो।











