Kathmandu Press

अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज ल्याउँदैछौ : प्रधानमन्त्री दाहाल

दाहालले जनताको ठूलो संघर्ष र बलिदानबाट पाएको अधिकार सामन्ती तत्वलाई नपचेको र त्यसलाई उल्ट्याउने प्रयास भइरहेको बताएका छन्।
अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज ल्याउँदैछौ : प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर २ : प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताएका छन्।

आज तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारमा आउँदा अर्थतन्त्रको अवस्था राम्रो नभएको र त्यो हाल सुधारउन्मुख रहे पनि दबाबमुक्त नरहेको बताए।

उनले चुनौतीपूर्ण अवस्थाको अर्थतन्त्रलाई सुधार गर्न केही दिनपछि ठोस प्याकेज ल्याउने जानकारी समेत गराए।

‘अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन । मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु,’ उनले भने,  ‘त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।’

दाहालले जनताको ठूलो संघर्ष र बलिदानबाट पाएको अधिकार सामन्ती तत्वलाई नपचेको र त्यसलाई उल्ट्याउने प्रयास भैरहेको बताएका छन्।

उनले जनताले संघर्ष गरेर पाएको अधिकार उल्टाउने कोसिस गरिएको भन्दै १२ बुँदे पक्षधर एकठाउँमा रहेको र त्यसलाई परास्त गर्ने बताएका छन्।

‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्,’ प्रधानमन्त्री दाहालले भने।

उनले १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ भएको बताउँदै प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्ने उल्लेख गरे।

आज तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका जिकिर गरे।

प्रकाशित मिति: ०६:४५ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्