Kathmandu Press

कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन

मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिए।
कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौं, मंसिर १ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिए। नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा गति दिन उनले आग्रह गरे।

कार्यसम्पादनको क्रममा आएका समस्या सकेसम्म आफैं हल गर्न ध्यानाकर्षण गराउँदै उन भने, “सकेसम्म समस्या आउनै नदिने गरी काम गर्नुस्। समस्या आए आफैं अग्रसर भएर समाधान गर्नुस्। त्यसो पनि हुन नसकेको खण्डमा मात्रै मन्त्रालयमा ल्याउनुस्। समस्या समाधानका लागि म आफैं अग्रसर भएर लाग्छु। परिणाम निस्कनु आवश्यक छ।”

परम्परागत तवरले काम गरेर मात्रै अपेक्षित प्रगति हासिल हुन नसक्ने भएकाले इमान्दार र जिम्मेवार भएर काम गर्न उनले सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई आग्रह गरे।

राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्नसमेत उनले ध्यानाकर्षण गराए।

मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिए।

जनतासँग प्रत्यक्षरुपमा जोडिएको मन्त्रालय भएकाले पनि यस मन्त्रालयको भूमिका झनै महत्वपूर्ण रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले भने, “जनताले प्रत्यक्षरुपमा राहत पाउने गरी कार्यसम्पादन हुनु आवश्यक छ। चाडपर्वहरु पनि सकिएका छन्। अब कुनै पनि बाहाना चल्ने छैन । तोकिएको लक्ष्य पूरा गर्न जिम्मेवार भएर लाग्नुस्।”

मन्त्री बस्नेतले ठूला आयोजनामा देखिएको समस्या समाधान गर्न पनि निर्देशन दिए।

यस्तै सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भमा मन्त्रालय र मातहतका निकायले त्यसको तयारी गर्न उनले आग्रह गरे। यसै महिनाको अन्तिमसम्म त्यसको एकमुष्ट विवरण पेश गर्न मन्त्री बस्नेतले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्