‘नेपालमा ५० वटा शौचालयमा तीन वटा मात्रै प्रयोग गर्न उपयुक्त’

काठमाडाैं, मंसिर १ : नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको देखिएको छ।
विश्व शौचालय दिवसका सन्दर्भमा शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै स्मार्ट वास सोलुसनले नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जनाएको हो।
स्मार्ट वास सोलुसनले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्नेमा जोड दिएको छ। स्मार्ट वास सोलुसनका अध्यक्ष रामदीप साहले दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।
उनले युएन वाटरले सार्वजनिक गरेको विवरण अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाई सेवा उपयोग गर्ने गरेको पाइएको जानकारी दिए। नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा गरेको र यसलाई पनि शतप्रतिशत पुर्याउनु पर्ने उहाले बताए।
नेपाल २०७६ असोज १९ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको थियोे। हरेक बर्ष नोभेम्वर १९ तारिकका दिन विश्व शौचालय दिवस मनाउने गरिन्छ। यस वर्षको नारा ‘परिवर्तनका लागि तीव्रता’ भन्ने रहेको छ।











