Kathmandu Press

सरकारी कार्यालय खुले पनि चहलपहल कम

तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो। आज मङ्सिर १ गते शुक्रबार कार्यालय खुले पनि भोलि शनिबार बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको हो।
सरकारी कार्यालय खुले पनि चहलपहल कम

काठमाडौँ, मङ्सिर १ : हिन्दुहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल  भने कम भएको छ। 

तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो। आज मङ्सिर १ गते शुक्रबार कार्यालय खुले पनि भोलि शनिबार बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार तिहारको बिदापछि आजदेखि सबै सरकारी कार्यालय सञ्चालनमा आएका हुन्।

लामो बिदापछि कार्यालय खुले पनि केही दिनभित्रै छठ पर्व पनि परेकाले कतिपय कर्मचारी छठ सकेर मात्र आउने गरी बिदामा बस्दा कार्यालय भने प्रभावकारी रुपमा सञ्चालन भएको पाइएन। जनतासँग प्रत्यक्ष सरोकार राख्ने बैंक, मालपोत, सडक र विद्युत् कार्यालयमा केही चहलपहल देखिन्थ्यो भने अन्य कार्यालयमा नगन्य रह्यो।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल सामान्य छ। तिहारको पाँच दिनपछि कार्यालय खुलेपछि केही कार्यालयमा भने सेवाग्राहीको चहलपहल देखिन्थ्यो। कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून रह्यो। तिहार र छठको निरन्तर बिदा परेकाले पनि कार्यालय सुनसान प्रायः देखिन्थे। सेवाग्राही पनि थोरै सङ्ख्यामा मात्र कार्यालय पुगेका छन्।
     
तिहारको माहोल सकिएर अहिले देशभर छठ पर्वको रौनक छाएको छ। सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका साथै तराईलगायत क्षेत्रमा छठ पूजाका लागि  आवश्यक तयारी गरिएकोे छ।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्