Kathmandu Press

फरार प्रतिवादीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

फरार प्रतिवादीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

काठमाडाैं, मंसिर १ : एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गोली चलाएको छ। बाँकेको जानकी गाउँपालिका–४ मा शुक्रबार बिहान पौने ११ बजेतिर बाँकेकै कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

रानाको खुट्टामा एक राउन्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइते रानालाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन्। तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर उनी भागेका थिए।प्रहरीले उनको खोजी गरिरहेको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकको भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ। 

जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी रानालाई नियन्त्रणमा लिन पुगेको थियो। प्रहरी देखेर उनी भागेपछि एक राउण्ड गोली चलाइएको हो।

आकाश राना लागुऔषध मुद्दामा पाँच वर्ष जेल बसेर छुटेका थिए। उनीविरुद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ।

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्