Kathmandu Press

सिंहदरबार भित्रको शौचालय म आफैं सफा गर्छु : उपसभामुख मगर 

सिंहदरबार भित्रको शौचालय म आफैं सफा गर्छु : उपसभामुख मगर 

काठमाडौं, मंसिर १ : उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन्।  विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन्।
 
उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन्। आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाइ गर्न म सफाइ गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु। त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैं गएर त्यसलाई घोट्छु। सफाइ भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ। जनचेतना फैलाएर हामीले राम्रो संस्कार विकास गर्नुपर्छ।’

उनले सरकारी कार्यालयमा रहेको शौचालयहरु निकै फोहोर हुने गरेको पाइएको बताएकी छन्। उनले संघीय संसद भवनभित्र सांसदहरुले प्रयोग गर्ने ट्वाइलेटको अवस्थाबारे प्रस्ट्याउँदै भनिन्, ‘पार्लियामेन्ट सकिएपछि एक दिन म मर्यादापालक साथीहरुलाई लिएर संसद भवनभित्रको शौचालय हेर्न गएँ। शौचालय प्रयोगपछि पुरुष माननीयज्यूहरुले फ्लस समेत नगर्ने रहेछन्। महिला माननीयज्यूले त प्याडको प्रयोगपछि डस्टनिमा समेत नहाल्ने गरेको पाएँ। मैले त्यो सन्दर्भमा मिटिङमै कुरा राखेँ।’

रानाले नेपालमा ठुला महल बनाउन दिन नहुने बताउँदै हरेक व्यक्तिले ठूला घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने धारणा राखिन्। उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन्। ‘महल बनाउन जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें। सबैले घर बनाउँदै जाने दुईतीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन्। खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने,’ रानाले भनिन्।
 

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्