टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
टिकटकमाथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर रिटमा गरिएको छ।
काठमाडौं, मंसिर १ : सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस हुन थालेका छन्।
तिहार बिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, जगन्नाथ दुलाललगायत कानुन व्यवसायीहरुले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका हुन्। अहिलेसम्म ६ वटा रिट निवेदन पेस भइसकेको र ती निवेदनमाथि रुजु गर्ने प्रक्रिया चलिहेको अदालत स्रोतले जनाएको छ।
टिकटकमाथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर रिटमा गरिएको छ। निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले कुनै कानुनी आधार नटेकी हठात् बन्द गर्ने निर्णय गरेकाले सो निर्णय खारेज हुनुपर्ने माग रिट निवेदकहरूले गरेको छन्।
टिकटक बन्द गर्दा नागरिकका लागि अपूरणीय क्षति हुने जिकिर गर्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने मागसमेत गरेका छन्। पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै मन्त्रिपरिषदको कात्तिक २७ मा बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
यसैबीच सर्वोच्चले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गते आइतबारलाई तोकेको छ। भोलि शनिबार र पर्सी छठको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेसी तोकिएको हो।











