Kathmandu Press

स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन्। उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ।
स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल

चितवन, २८ कात्तिक : भरतपुर अस्पतालको मुय आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ ।

अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन्। उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ।

त्यसो त थोरै सङ्ख्यामा सङ्घीय सरकारको दरबन्दीमा रहेका चिकित्सक कर्मचारी छन्। ठूलो सङ्ख्या अस्पताल विकास समितिमार्फत् नियुक्त भएका चिकित्सक कर्मचारी छन्। उनीहरुको तलबलगायत सुविधा बीमामार्फत् आउने रकमको भरमा हुने गरेको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालमा कूल चिकित्सक कर्मचारीको सङ्ख्या एक हजार एक सय पाँच जना छन् । तीमध्ये नेपाल सरकारका स्थायी कर्मचारी एक सय ५४ जना मात्रै रहेका छन्।

त्यसका अतिरिक्त आमा सुरक्षा कार्यक्रमका १५ जना, पोषण पुनःस्थापना कार्यक्रमका नौ जना, एआरटी कार्यक्रमका एक जना, ओसिएमसी कार्यक्रमका दुई जना, तालिम सहायक एक जनाको नेपाल सरकार र दातृ निकायले तलबभत्ता उपलब्ध गराउँछन्।
 
सरसफाइ तथा सुरक्षा गार्डतर्फका एक सय ९६ जना कर्मचारीको एक वर्षको रु पाँच करोड ६४ लाख भन्दा बढी खर्च हुने गरेको छ । सरकारले वर्षको रु दुई करोड ६३ लाख मात्रै पठाउँदै आएको छ । बाँकी रकम विकास समितिको आम्दानीबाट खर्च हुने गरेको छ।

एक वर्षमा रु ५० करोडभन्दा बढी रकम विकास समितिमार्फत् तलब भत्ताका अतिरिक्त नियमित अस्पताल सञ्चालनमा खर्च हुने गरेको छ। यसको मुख्य स्रोत स्वास्थ्य बीमा कार्यक्रम हो।
 
भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम सुरु भएको हो। अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम ईन्चार्ज लीलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा बीमा कार्यक्रममार्फत् दाबी भुक्तानी रु ५२ करोड ५३ लाख भएको थियो । यसवर्ष रु एघार करोड भन्दा बढी भुक्तानी भइसकेको छ । बीमाबाट भुक्तानी हुन बाँकी रु पच्चीस करोड नाघेको छ।

पौडेलका अनुसार दैनिक एक हजार दुई सयभन्दा बढी पोलिसी स्वास्थ्य बीमा बोर्डमा पठाउने गरिएको छ । यो सरदर हिसाब गर्दा दैनिक रु २० लाखभन्दा माथि हुने गरेको छ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्