यो सरकार प्रजातन्त्र स्थापनापछि कै साहसिक : मन्त्री किराती
उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको जिकिर गरे।
काठमाडौं, कात्तिक २८ : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले, यो सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको दाबी गरेका छन्।
भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको जिकिर गरे।
‘प्रजातन्त्रपछिको कयौं सरकारहरुले यति सहासीक काम गरेको थिएन । मिटरव्याजीको कुरा होस् । चाहे भुटानी शरणार्थीको कुरा होस्। चाहे बालुवाटारको जग्गा बेचेर खाने देशघातिहरुको कुरा होस्, ’ उनले भने, ‘जनताको छोराछोरीले प्राप्त गर्न नसकेर भौतारिएको नागरिकताको कुरा होस् । यी सबै प्रचण्ड सरकारले गरेको हो र काम सुरु भएको छ।’
जति राम्रो काम गरेपनि त्यसलाई नकरात्मक ढंगले प्रस्तुत गर्ने गरिएको उनको भनाई छ।
‘यदी हामीले दुध र पानी छुट्टयाउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियती फेरीपनि हामीले भोगि राख्नु पर्छ । जसरी पनि खोट लगाउने हाम्रो संस्कति बनेको छ । यो अचम्मको कुरा छ,’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नु भो।’











