टिकटकमाथिको प्रतिवन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : सामाजिक सद्भावका लागि सामुहिक निर्णय
प्रधानमन्त्री दाहालले कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन्।
काठमाडौं, कात्तिक २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथिको प्रतिवन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबैदलको सहमतिमा गरिएको दाबी गरेका छन्।
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन्।
‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकशित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहान्छु,’ उनले भने
प्रधानमन्त्री दाहालले अहिले गरिएका निर्णय बारे बहस हुदैँ जाने बताउँदै अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उल्लेख गरे।
‘नेपालमा विकृती विसंगति र अराजकता फैलाउन चाहाने प्रवृतिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ,’ उनले भने, ‘नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरुको चित्त बुझेको छैन् । छलफल हुदैँ जाला, कन्भिन्स हुदैँ जाने प्रक्रिया होला।’
त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।











