Kathmandu Press

नागरिकलाई सहकारी, लघुवित्त र बैंकको ऋणबाट मुक्त गराऔं : रवि लामिछाने

नागरिकलाई सहकारी, लघुवित्त र बैंकको ऋणबाट मुक्त गराऔं : रवि लामिछाने

काठमाडौं, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले, आम नागरिकलाई ऋणमुक्त गराउन सरकारसंग अनुरोध गरेका छन्।

नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरमा आयोजित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रममा उनले, सरकारले आम नागरिकलाई ऋणमुक्त गर्ने निर्णय गरेमात्रै साख्वामाथिको सच्चा सम्मान हुने बताए।

चर्को ऋणकै कारण नेपालीहरु देश छोड्ने अवस्थामा पुगेको उनको भनाई छ।

‘यो देशमा, लघुवित्तका माध्यमबाट सहकारीका कारणबाट र विभिन्न कारणहरुले मानिसहरु ऋणको पासोमा पुगेका छन्। बैंक व्याजका कारणले तिर्न नसकेर घरबारविहीन भएर घर गाउँ देशै छोडेर जाने अवस्थामा पुगेका छन् यदी हामी साँच्चै नै शंखधर साख्वालाई सम्झिने हो,’ उनले भने ‘उहाँलाई ह्दयमा राख्ने हो भने यी नेपाली जनतालाई ऋणमुक्त गर्नको निमित्त एउटा राम्रो व्यवस्था यसलाई व्यवस्थित सहकारीहरुलाई व्यवस्थित बैंक व्याजलाई व्यवस्थित लघुवित्तको व्याजलाई व्यवस्थित गर्ने हो भने उहाँप्रतिको सच्चा श्रद्धान्जली नै यही हुन्छ।’

शंखधरले व्यक्तिगत सम्पति जनतालाई ऋणमुक्त गराउन प्रयोग गरेको स्मरण गर्दै उनले राज्यले आम नागरिकलाई ऋणमुक्त गर्न भूमिका खेल्नु पर्ने बताए।

‘त्यसकारणले उहाँबाट सिक्नु पर्ने कुरा जसरी आफ्नो व्यक्तिगत धनका माध्यमबाट उहाँले गरिबहरुलाई ऋणमुक्त गर्नु भो त्यसैगरी नेपाली जनतालाई सहकारी, लघुवित्त र बैंकहरुको चर्को व्याजबाट मुक्त गराईदिएर उहाँप्रति सच्चा सम्मान प्रकट गरिदिन सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत सरकारलाई अनुरोध गर्दछु,’ उनले भने।

 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्