नेपाल संवतले, सहकार्य र एकताका साथ राष्ट्रको विकासमा योगदान पुग्छ : प्रधानमन्त्री
नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं, कात्तिक २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
‘२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ,’ नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती दाहालले भनेका छने।
उनले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको बताउँदै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
सन्देशमा उनले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गरेका छन्।
‘नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ, नेपाल संवत् नेपालको मौलिक संवत् हो,’ प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो। शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो।’
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति शाख्याले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी गरेको प्रचण्डले बताएका छन्।











