Kathmandu Press

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक पठाउने

सरकारले एकद्वार प्रणालीबाट राहत दिने नाममा मनपरि गरिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि एक हजार स्वयंसेवक पठाउन लागेको बताइन्।
भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक पठाउने

काठमाडौं, कात्तिक २७ : नेकपा एमालेकी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले एमाले सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको बताएकी छन्।
 
आज नेकपा एमाले रामेछाप काठमाडौं–सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान, सामूहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा उनले सरकारले एकद्वार प्रणालीबाट राहत दिने नाममा मनपरि गरिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि एक हजार स्वयंसेवक पठाउन लागेको बताइन्।

‘सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको छ। म आफैं पनि लागेको छु । सरकारले एकद्वार प्रणालीबाट राहत दिने भनेको छ तर राहत पुगेको छैन, मनपरि भएको छ, उनले भनिन्,’ उनले भनिन्,  ‘आफ्नो मान्छेलाई राहत वितरण गर्ने काम भइरहेको छ । त्यो काम जाजरकोटमा धेरै छ, हाम्रो टोली त्यहाँ पुगेपछि सबै व्यवस्थित हुन्छ।’

उनले पीडितहरुका लागि बस्नयोग्य एउटा टहरा मात्रै भए पनि बनाउने उद्देश्यका साथ हजार स्वयंसेवक तयार पार्दै गरेको भन्दै तिहारलगतै टोली परिचालन गर्ने बताइन्।

‘स्वयंसेवकको काम पीडितलाई राहत दिने मात्रै होइन, उनीहरुका लागि बस्न योग्य एउटा टहरा मात्रै भए पनि बनाउने हो। यही उद्देश्यका साथ हजार स्वयंसेवक तयार गर्दैछौं। तिहारलगत्तै यो टोली जान्छ,’ उनले भनिन्।

यस्तै, संस्कृति भित्रको विभेद र असमानता हटाउँदै लोकतान्त्रिक, गणतान्त्रिक संस्कृति अथवा नयाँ नेपालको नयाँ संस्कृति विकास गरेर अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ।

उनले भनिन्, ‘संस्कृतिको रुपान्तरण अहिलेको आवश्यकता किन भनिरहेका छौं भने अहिलेको समानतायुक्त नेपाल, समाजवादी नेपाल बनाउन चाहन्छौं । त्यो सामाजिक व्यवस्था परिवर्तन भएर मात्रै हुँदैन। आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन पनि अहिलेको आवश्यकता हो।’

 

 

 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्