Kathmandu Press

उपत्यकामा कम हुँदै देउसीभैलोको रौनक

उपत्यकामा कम हुँदै देउसीभैलोको रौनक

काठमाडाैं, कात्तिक २६ : नेपालीहरूको महान चाड तिहारमा खेलिने देउसी भैलोको रौनकता पछिल्लो समय उपत्यकामा कम हुँदै गएको छ। 

तिहारमा खेलिने देउसी र भैलीको आफ्नै महत्व र मान्यता भएपनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुदै गएको छ। कतै भने सामुहिक रुपमा देउसीभैलो खेलेर सामाजिक कामहरु गरेको पनि सुनिन्छ। लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ।

भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन्। त्यसको भोलीपल्ट भने देउसी खेलिन्छ। गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ। देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ। पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए। त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको कथन छ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ। भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावली सहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो शुरु गर्दछन्। श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन्। भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्