नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोबार बन्द
काठमाडौं, फागुन १९ : नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ। कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार ....

काठमाडौं, फागुन १९ : नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ। कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए।
नेप्सेका अनुसार आज दिउँसो १ः२९ बजेदेखि कारोवार स्थगित गरिएको हो। बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो। उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो।
यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ। सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ।
आज १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ रुपैयाँमा कारोवार भएको थियो
नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको रु १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको रु आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।
आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।










-1754206481.jpg)
