महाकवि देवकोटाको ११५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयाे

काठमाडाैं, कात्तिक २६ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो। त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो।
कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापन तथा सदस्य सचिव नरेन्द्रराज प्रसाईले कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।
महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो।
अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो।












