भूकम्प प्रभावितहरूको उपचारका लागि तत्काल विशेष कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन
जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरुको लागि राहत तथा अस्थायी पुनर्बासको व्यवस्थाबारे गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरबारमा आज बसेको हो।-(1)-1699779681.jpeg)
काठमाडौं, कात्तिक २५ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका असहाय, वृद्धवृद्धा, बालबालिका एवं बिरामी नागरिकको उपचारका लागि तत्काल डाक्टर, औषधिसहित विशेष योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरुको लागि राहत तथा अस्थायी पुनर्बासको व्यवस्थाबारे गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरबारमा आज बसेको हो।
उक्त बैठकमा मन्त्री श्रेष्ठले चिसो मौसमको बेला पीडित नागरिकको स्वास्थ्यमा जोखिम रहेको र त्यसलाई तत्काल सम्बोधन गर्न सक्ने गरी औषधी र स्वास्थ्यकर्मीसहित योजना बनाउन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष निर्देशन दिए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई मेरो विशेष निर्देशन के छ भने अहिले वृद्धवृद्धा, बालबच्चा, सुत्केरीको निम्ति डाक्टर, औषधि र अरु आवश्यक केके कुराको व्यवस्थापन गर्नुपर्ने हो तत्काल योजना बनाइहाल्नोस्।’











