रंग खेल्दै मिथिलाञ्चलमा आजदेखि होली
जनकपुर, फागुन १९ : मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि....

जनकपुर, फागुन १९ : मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली सुरू भएको छ।
त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको सुरूआत गर्ने परम्परा छ। आइतबार कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली सुरू भएको मानिन्छ।
१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ। परिक्रमामा सहभागी हजारौँ साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरूआत गरेको हो।
साधुसन्त र महात्माले होली पर्वको सुरुआत गरिसकेपछ िआज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग सुरू भएको छ।
यसैगरी होलीको आगमनसँगै प्रत्येक वर्षझैं यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र ब्यङ्गात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ।
परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा नै होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ।
मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवारले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममा कै क्रममा होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन्।
धनुषाको हनुमानगढीमा गत आइतबार परिक्रमाका लागि रामचन्द्र र जानकीको डोला र परिक्रमायात्री जम्मा भई आजदेखि भारतको कलार्णेश्वरबाट सुरू भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ।











