राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ,’ उनले भने ।काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी तिव्रता दिने बताएका छन्।
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै सरकारले क्रिकेट रंगशाला निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए।
‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।’
उनले क्रिकेटप्रति नेपाली जनता र युवामा देखिएको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको भन्दै खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न अगाडि बढ्ने बताए। आफूले क्रिकेट हेरिरहेको बताउँदै उनले नेपालको क्रिकेट क्रेजले सरकारलाई पनि प्रेरित गरेको उल्लेख गरे।
‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ, यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ,’ उनले भने, ‘खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।’
उनले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भएकोमा नमीठो लागेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नेको लागि सरकारले सचेतता अपनाउने बताए। पुरस्कार वितरणमा ढिलो हुँदा आफूलाई पनि नरमाइलो लागेको बतउँदै प्रधानमन्त्री दाहालले केही कानुनी र प्रक्रियागत समस्याका कारण ढिलाई भएको स्पष्ट गरे।