दक्षिण अफ्रिका ८३ रनमै अलआउट, भारतको लागतार आठौं जित
रतियोगितामा शतप्रतिशत नतिजा निकालिरहेको भारतले आठौं जित निकाल्ने क्रममा दक्षिण अफ्रिकालाई २४३ रनले हरायो।काठमाडौं, कात्तिक १९ : भारतले घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपमा लगातार आठौं जित निकालेको छ। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालिरहेको भारतले आठौं जित निकाल्ने क्रममा दक्षिण अफ्रिकालाई २४३ रनले हरायो।
भारतलाई सानदार जित दिलाउन वर्थडे बोइ विराट कोहलीले शतक प्रहार गरे भने रविन्द्र जडेजाले ५ विकेट लिए।
भारतले दिएको ३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि मार्को यान्सनले सर्वाधिक १४ रन बनाउँदा रसी भान डेर डुसानले १३ तथा कप्तान डेम्बा बावुमा र डेविड मिलरले समान ११ रन बनाए।
दक्षिण अफ्रिकाको इनिङ धरासायी बनाउने क्रममा रविन्द्र जडेजाले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए भने मोहम्मद सामी र कुलदीप यादवले समान २ विकेट लिए।
त्यसअभि पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीले जन्मदिनमा सानदार शतक बनाएपछि भारतले ५ विकेटको क्षतिमा ३२६ रन बनायो।
कोहलीले एकदिवसीय क्रिकेटमा ४९औं शतक प्रहार गरे। उनले १२१ बल खेल्दै १० चौका मद्दतमा १०१ रन बनाए। यो शतकसँगै कोहलीले एकदिवसीयमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।
कोहलीले २८९ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। सचिनले ४६३ खेलमा ४९ शतक बनाएका थिए।
भारतका लागि श्रेयस ऐयरले ८७ बलमा ७ चौका र २ छक्का मद्दतमा ७७ रन बनाए। कोहली र श्रेयसले तेस्रो विकेटका लागि १३४ रनको साझेदारी गरे। यस्तै रोहित शर्माले २६ बलमा ४० रन बनाउँदा रविन्द्र जडेजाले १५ बलमा २९ रन बनाए।
दक्षिण अफ्रिका लुंगी एनगिदी, मार्को यान्सन, कागिसो रबाडा, केशव महाराज र ताब्रिज साम्सीले समान १ विकेट लिए।
अपराजित भारत ८ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ। ८ खेलमा २ हार व्यहोरोको दक्षिण अफ्रिका १२ अंकसहित दोस्रो स्थानमा छ।