नौ दिनमा ३३ देशमा फैलियो कोरोना भाइरस
काठमाडौं, फागुन १८ : चीनमा केही नियन्त्रणमा आएपनि संसारका अन्य देशमा भने कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेको छ। गत नौ दिनमा ३३ देशमा कोरोना भाइरसको....

काठमाडौं, फागुन १८ : चीनमा केही नियन्त्रणमा आएपनि संसारका अन्य देशमा भने कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेको छ। गत नौ दिनमा ३३ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अहिले कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा देखिएको छ। फेब्रुअरी १९ मा इरानमा कोरोना भाइरस देखिएको थियो। त्यसयता थप ३३ देशमा संक्रमण देखिएको विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले जनाएको छ।
डब्लूएचओका अनुसार, यो नौ दिनमा लेबनान, ओमान, इजरायल, अफ्गानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रेलिया, स्टोनिया, रोमानिया, नर्थ मसेडोनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिलमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
त्यस्तै, अल्जेरिया, स्वीट्जरल्यान्ड, क्रोसिया, बहराइन, कुवेत, इक्युडर, लक्जेम्बर्ग, आइसल्यान्ड, मोनाको, मेक्सिको, नाइजेरिया, न्यूजिल्यान्ड, नेदरल्यान्ड, नर्थर्न आइरल्यान्ड, बेलारुस, लिथुआनिया, कतार र आइरल्यान्डमा नयाँ संक्रमण देखिएको हो।
अहिलेसम्म चीनलगायत ६० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसबाट आइतबार बिहानसम्म दुई हजार नौ सय ७६ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट चीनमा दुई हजार आठ सय ७० र अन्य देशमा एक सय ६ जनाको मुत्यु भएको डब्लूएचओले जनाएको छ। यो क्रमण बढिरहेको छ।
त्यस्तै, अहिलेसम्म संसारभर ८६ हजार पाँच सय जना कोरोना भाइरसको संक्रमणबाट बिरामी परेका छन्। जसमा ७९ हजार आठ सय २४ जना चीनमा र अन्य देशका ६ हजार ६ सय ७६ जना रहेका छन्। यसमध्ये चीनमा ४१ हजार ६ सय २५ जना निको भएर घर फर्केका छन्।
विश्व स्वास्थ्य संघले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिमा रहेको जनाएको छ। त्यसका लागि नेपाल सरकारले आवश्यक सतकर्ता नअपनाएको र तयारी नगरेको उल्लेख गरेको छ।











