टि–२० विश्वकप छनोटमा ओमान र बहराइन विजयी
मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले हरायो। ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।काठमाडौं, कात्तिक १४ : काठमाडौंमा जारी टि–२० विश्वकप छनोटको दोस्रो दिन बहराइन र ओमान विजयी भएका छन्।
मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले हरायो। ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।
उसका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ४१ रन बनाए भने मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रनको योगदान दिए। बलिङतर्फ ओमानका विलाल खान र फयाज बटले समान २ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो। उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रन बनाए भने प्रतीक अथवले ४२ र जिशान मकसुद २६ रनको योगदान दिए,
सिंगापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई विकेट लिए।
प्रतियोगितामा ओमानको लगातार दोस्रो जित हो भने सिंगापुर जितबिहीन छ। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो भने सिंगापुर नेपालसँग ८ विकेटले पराजित भएको थियो।
मंगलबार नै मुलपानीमा भएकामे खेलमा बहराइनले हङकङलाई २० रनले हरायो। बहराइनले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १२६ रनमै अलआउट भयो।
हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए भने जिशान अलीले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए। बहराइनका लागि अब्दुल मजिदले ३ तथा रिजवान बट र अली दाउदले समान २ विकेट लिए।
पहिला ब्याटिङ गरेको बहराइन १९.३ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो । उस इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५ रन बनाए।
हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान २ विकेट लिए।
यो बहराइनको पहिलो जित हो। उ पहिलो खेलमा युएईसँग पराजित भएको थियो। हङकङको यो पहिलो हार हो। उसले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो।