Kathmandu Press

टी-२० मा सय विकेट लिने सन्दीप पहिलाे खेलाडी

काठमाडाैं, फागुन १७ : नेपाली युवा लेगस्पिर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा एक सय विकेट लिएका छन्।

थाइल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि-....

टी-२० मा सय विकेट लिने सन्दीप पहिलाे खेलाडी

काठमाडाैं, फागुन १७ : नेपाली युवा लेगस्पिर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा एक सय विकेट लिएका छन्।

थाइल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि-२० प्रतियोगिताअन्तर्गत मलेसियाका वीरन्दीप सिंहको विकेट लिँदै सन्दीपले एक सय विकेटको कोशेढुंगा पार गरेका हुन्। टी-२० क्रिकेटमा एक सय विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी पनि हुन्।

एक सय विकेट लिनेक्रममा सन्दीपले ७५ खेल खेलेका छन्। जसमा राष्ट्रिय टिमबाट १८ र फ्रेन्चाइज क्रिकेटमा ५६ खेल छन्। वीरेन्दीपको विकेट सन्दीपको राष्ट्रिय टिमको २९औं विकेट हो।

सन् २०१८ मा आईपिएलमार्फत् सन्दीपले टी-२० क्रिकेटमा डेब्यू गरेका थिए। उनले टी–२० को पहिलो विकेटका रुपमा रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेललाई पभेलियन पठाएका थिए। त्यसपछि सन्दीपले टी–२० क्रिकेटमा राज नै गरेका छन्।

त्यो सिजन सन्दीपले आईपिएलमा तीन खेलमा पाँच विकेट लिए। त्यसपछि उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग, टी-१० लिग, ग्लोबल लिग क्यानडामा खेलिसकेका छन्।

गतवर्ष लड्समा नेदरल्यान्ड्सविरुद्ध खेल्दै सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे, एकवर्षमै २८ विकेट लिए। त्योसँगै सन्दीप सन् २०१९ मा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बने। उनीसँगै नेपालकै करण केसी र नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरको समान २८ विकेट लिएका थिए।

अन्य ७१ विकेट सन्दीपले फ्रेन्चाइज क्रिकेटमा लिएका छन्। यो सिजनको बिग बासमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे सर्वाधिक १५ विकेट लिए। गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा यसअघि उनले ११–११ विकेट लिएका थिए।

पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै क्वेटा ग्लाडियटर्सविरुद्ध चार ओभरमा १० रन खर्चेर चार विकेट लिनु सन्दीपको टी–२० करिअरको उत्कृष्ट स्पेल हो। यस्तै, टी–२० अन्तर्राष्ट्रियमा भने नेदरल्यान्ड्ससँग चार ओभरमा २० रन खर्चेर चार विकेट लिनु उत्कृष्ट स्पेल हो।

एसिसी इस्टर्न रिजन प्रतियोगिताका लागि थाइल्यान्ड जानुअघि सन्दीपले एक विकेटलाई लिएर आफू उत्साहित भएको बताएका थिए। उनले भनेका थिए, ‘यो ठूलो सफलता हो, तर यसमात्र म अडिने छैन, त्यसपछि अर्को एक सय विकेट र खेल जीवन टुंग्याउँदा पाँच सय विकेट लिने लक्ष्य छ।’

सन्दीपको १०० विकेट

राष्ट्रिय टिमबाट : २९

बिग बास लिग : २६

क्यारेबियन प्रिमियर लिग : १५

आईपिए : १३

पाकिस्तान सुपर लिग : ११

बंगलादेश प्रिमियर लिग : ४

अफगानिस्तान प्रिमियर लिग : २

 

 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्