पार्टी फुट्छ भन्ने हल्ला मात्रै : भीम रावल
कैलाली, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला मात्रै भएको बताए....

कैलाली, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला मात्रै भएको बताएका छन्।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए। ‘पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक हो। त्यसले पार्टी फुट्छ भन्नु निराधार हो,’ रावलले भने, ‘यो हल्ला मात्रै हो, पार्टी फुट्दैन।’
उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे। निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने बताउँदै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए।
एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे। उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताए।
उनले राष्ट्रिय सभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए। केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ थियो।











