Kathmandu Press

दिल्ली हिंसामा ४२ मृत्यु, ३५० घाइते

नयाँ दिल्ली, फागुन १७ : भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शनिबारसम्म ४२ जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका ....

दिल्ली हिंसामा ४२ मृत्यु, ३५० घाइते

नयाँ दिल्ली, फागुन १७ : भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शनिबारसम्म ४२ जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै तीन सय ५० भन्दा बढी घाइते भएका छन्।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ। पछिल्लो हिंसात्मक झडप उक्त कानूनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए। गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानूनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो।

संशोधित नागरिकता कानून र राष्ट्रिय अभिलेख रजिस्ट्ररका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको भनाइ छ।

प्रहरीले गत बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवासबाहिर भेला भएको भीडलाई तितरबितर बनाएको थियो। यो भीडमा खासगरी जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरू, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए। उनीहरूले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

त्यसैबाट सुरू भएको विरोध प्रदर्शनमा भाजपाकै सांसदको नेतृत्वमा आक्रमण गर्न थालिएको थियो। जसले अहिले कयौंलाई घरबारविहीन बनाएको छ। हिंसा जारी रहेको छ।

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, फागुन १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्