'५५ अर्बका लागि राष्ट्रहित विपरीत एमसीसी सम्झौता गरिन्न'
सिन्धुपाल्चोक, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र ....

सिन्धुपाल्चोक, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुने बताएका छन्।
प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे।
उनले परिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए। ‘पैसा ठूलो कुरा होइन्। ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरित एमसीसी सम्झौता गरिन्न,’ उनले भने।
नेकपामा एमसीसीसम्बन्धी विवाद भएपछि कार्यदल बनाइएको थियो। झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने प्रतिवेदन बुझाएको छ।
त्यहि प्रतिवेदनअनुसार, एमसीसी सम्झौता परिमार्जन गरेर संसद्बाट अनुमोदन गर्नुपर्ने प्रचण्डले बताएका हुन्।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो।
एक अर्को प्रश्नमा उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रिय सभा सदस्यमा मनोनित हुने बताए।
उनी चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका हुन।











